विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार आयोजित पार्टीको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विगतको आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई उल्टाउने शक्तिहरु अझै सक्रिय रहेकाले जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने बताएका हुन् ।
२००७ सालको उपलब्धि र २०४६ सालको उपलब्धि संस्थात नगरेका कारण मुलुक पटक पटक प्रतिगमन भएको यादवको दाबी छ। उनले भने,‘२०६२/६३ सालको उपलब्धि संस्थागत नगरे फेरि केपी ओलीजस्ता प्रतिगमन गर्ने समूहले उल्टाउनमा लाग्ने छ।’
लामो समयको बलिदान र आन्दोलनबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर संविधान रहेको त्रुटीलाई सच्याएर संविधानलाई परिमाजित गर्ने उनले बताए । उनले संघियतालाई संस्थागत गरेर संविधानलाई परिमार्जित गर्दै जाने बताए। ‘अहिलेको सात प्रदेश अवैधानिक र अव्यवहारिक छ, राज्य पुर्नसंरचना आयोगको सुझावको आधारमा १० प्रदेश बनाउनुपर्नेछ। पहिचान र सामर्थ्यको आधारमा संघीय राज्य नबनाएर मुलुकमा मधेशी, थारुसंगै लम्बुवानसहितको जनजातिहरुको अधिकार स्थापित हुँदैन।’ उनले भने, ‘पहिचानको आधारमा राज्यको पुनसंरचना गर्नुपर्छ।’
अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रति अंकित गर्दे यादवले केही बेइमानहरूले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै कित्तामा पुगेको टिप्पणी गरे। उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए। हिजो पनि उनीहरुको दाउँ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ।’
उनले महन्थलाई प्रधानमन्त्री बनाउँछु भने मानेपनि महन्थ आफैँ हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भागेको आरोप लगाए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले पतन भएको अध्यक्ष यादवले बताए।‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए। तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो,’उनले भने।
कार्यक्रममा जसपा वरिष्ठ नेता अशोक कुमार राईले नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएकोले जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए। मधेश र पहाड जोड्न शक्ति निर्माणमा आफुहरु लागेको उनले बताए। ‘जसपामा केही व्यक्ति गए, जानु नै थियो।’ उनले भने,‘विभाजन भन्नु गलत हो।’
अर्को नेता महेन्द्र राय यादवले जसपाबाट गएका नेताहरुमा प्रतिगमन र दक्षिणपंथी विचारबाट विचलितत भएको बताए । उनले भने,‘नैतिकता पतन भएकालाई जनताले बस्तीमा छिर्न दिने छैनन्।’
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti