जिल्ला समन्वय समिति बाराको ढुंगा, गिट्टीसंग सम्बन्धित प्राविधिक उपसमितिले निजगढको क्रसर उद्योगले स्टक गरेर राखेको नदीजन्य पदार्थको स्थलगत परिमाण संकलन गर्ने कार्य थालेको छ । निजगढका क्रसर उद्योगहरुद्धारा उत्पादित रोडा, गिट्टी, बालुवा र नदीजन्य पदार्थ स्टक मौज्जाद के कति परिमाणमा छ भन्ने बारेमा एकिन गर्न प्राविधिक उपसमितिले दुई दिनदेखि स्थलगत अनुगमन गर्दै तथ्यांक संकलन थालेको हो ।
गत वर्ष निजगढ नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन, संकलन बिक्री वितरण गरेको परिमाण भन्दा बढी हुन सक्ने भन्दै जिल्ला समन्वय समिति बाराले सो नापजाचको लागि प्राविधिक उपसमितिलाई खटाएको हो ।
अघिल्लो वर्ष यसरी नैं क्रसरद्धारा उत्पादित रोडा, गिट्टी, बालुवा र नदीजन्य पदार्थको स्टक मौज्जाद बढी भएको प्रमाणित भएसंगै निजगढ नगरपालिकालाई बढी देखिएको नदीजन्य पदार्थको राजस्व संकलन गर्न÷गराउन जिल्ला समन्वय समिति बाराले निर्देशन गरेको थियो ।
उक्त निर्देशनपछि निजगढमा रहेका करिब ८ वटा क्रसर उद्योगहरुबाट लगभग ५८ लाख रुपैया राजस्व दाखिला भएको थियो । गत वर्ष निजगढ नपाले नदीजन्य पर्दाथ उत्खनन, संकलन र बिक्री वितरणको लागि भ्याट बाहेक १६ करोडमा ठेक्का लगाएको थियो ।
क्रसर उद्योगमा र आसपास क्षेत्रमा घाटगदीमा रहेका क्रसरद्धारा उत्पादित रोडा, गिट्टी, बालुवा र नदीजन्य पदार्थको स्थलगत परिमाणको तथ्यांक संकलन गरि रहेको उक्त प्राविधिक उपसमितिका सयोजक एंव पूर्वाधार विकास कार्यालय पर्साका इन्जिनियर राजेश प्रसाद चौधरीले जानकारी दिए ।
अनुगमन कार्यमा निजगढ नगरपालिकाका इन्जिनियर रुपेश कुमार यादव, इन्जिनियर अशोक कुशवाह सहितको प्राविधिक टोली पनि सहभागी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti