झापाको भद्रपुर नगरपालिका- १० की गीता भण्डारीको धेरै समय अघिदेखि मिर्गौलामा समस्या देखिएको थियो। औषधी उपचार गर्दा गर्दै उनका दुबै मिर्गौला फेल भए।
लामो समय डाइलाइसिस गरिन्। डाइलासिसभन्दा मिर्गौला प्रत्यारोपण गर्नु फाइदाजनक हुने भएपछि परिवारले मिर्गौला दान दिने मान्छे खोज्न थाले। नेपालको कानुनअनुसार नातेदारभित्रै डोनर खोज्नु पर्ने थियो।
काका ससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दिने भए।
उनीहरू केही समयअघि भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गर्न भन्दै आए। मिर्गौला दाताको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्ट आयो। तर अन्तिममा थाहा पाए, नजिकका नातेदारमा त काका ससुरा पर्ने रहेनछन्। उनले मिर्गौला दान गर्न नपाउने भए।
केही मेसो नपाएपछि परिवारको सल्लाहमा उनले नजिकका नातेदारमा काका ससुरालाई पनि राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिइन्।
पहिलो पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको थियो। उक्त इजलासले अन्तरिम आदेश दिएन। बरू लिखित जवाफ परेको भोलिपल्ट पेशी राख्ने आदेश दियो।
गीता दिनदिनै सिकिस्त भइरहेकी थिइन्। अदालतको आदेश पर्खिने समय उनीहरूलाई थिएन।
नेपालमा नपाए पनि भारतमा गए त काका ससुराले नै मिर्गौला दिन पाउँछन् भन्ने थाहा पाएपछि उनीहरू भारत गए।
गीताका वकिल अधिवक्ता टीकाराम भट्टराईका अनुसार नेत्रप्रसादले आफ्नी बुहारीलाई मिर्गौला दान गरे। अहिले गीताको मिर्गौला प्रत्यारोपण सफल भएको छ। उनी प्रत्यारोपण पछिको उपचारमा छिन्।
भारत गएर मिर्गौला दान गरेको झण्डै तीन हप्तापछि गीताको रिटमाथि यता सर्वोच्च अदालतले भने फैसला नै गरिदिएको छ।
आइतबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका ससुराले गीतालाई मिर्गौला दिन मिल्दैन भन्ने अस्पतालको पत्र बदर गरिदियो। साथै उनलाई काका ससुराबाट मिर्गौला दान गर्न परमादेश जारी गरिदियो।
अदालतले नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै फैसलामा भनिएको छ- ऐन/कानुनले मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिद-बिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ।
त्यसैले बुहारीको जीवन रक्षा गर्न मिर्गौला दिने काका ससुराको मञ्जुरी भएको भन्दै मिर्गौला दान गर्ने बाटो अदालतले खोलिदिएको हो।
‘ऐनले विभिन्न नाताको उल्लेख गर्दै ससुरा नाताका व्यक्तिलाई नजिकको नातेदारको परिभाषामा समेटेको स्थितिमा उक्त मिर्गौला प्रत्यारोपण कार्य स्वयंमा मानव जीवन रक्षासँग सम्बन्धित भएको, मिर्गौला प्रत्यारोपण गर्न अंग दान गर्न काका ससुराको मन्जुरी भएको र सो कार्यलाई निषेध गर्नुपर्ने आधारभूत कारण नभएको एवं काका ससुरालाई स्वेच्छिक दान गरी बुहारीको जीवन रक्षामा योगदान पुर्‍याउन पवित्र मानवीय दृष्टिकोण समेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यारोपण केन्द्रको पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ,’ फैसलाको संक्षिप्त आदेशमा भनिएको छ, ‘अब ससुरा सरहका काका ससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अंग दान गर्न चाहेमा चिकित्सकीय रोह/रीत पुर्‍याई मिर्गौला प्रत्यारोपण गर्नू/गराउनू भनी परमादेशको आदेश जारी हुने ठहर्छ।’
मानव अंग प्रत्यारोपण सम्बन्धमा पुजा खत्रीविरूद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं समेत (०६९-ws००५९) को मुद्दामा मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्यालाई समेत यो फैसलाले आधार लिएको छ।
भण्डारीका वकिल टीकाराम भट्टराईले आफ्नो पक्षलाई फैसला काम नलागे पनि यस्तो समस्यामा परेकाहरूलाई भने सजिलो पारिदिएको बताए।
प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण प्रक्रिया अघि बढाउनका लागि कागजात बुझाउँदा त्यहाँका कर्मचारीले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएका थिए।
त्यसपछि मुलुकको प्रत्यारोपणसम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको भन्दै गीताले सर्वोच्चमा रिट दिएकी हुन्।
बेलैमा रिटमाथियि सुनुवाइ नभएपछि भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको छ।
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन- २०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिलाई काकाले दिन पाउने उल्लेख भए पनि काका ससुराले दिन पाउने व्यवस्था छैन। काकाले दान गर्न पाउँदा काका ससुराले पनि पाउनु पर्ने गरी कानून फराकिलो र व्यवहारिक हुनुपर्ने माग गीताको रिटमा थियो।
ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ। जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ। यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था थियो।
ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउनेसमेत व्यवस्था छ।
सोही ऐनबमोजिम गत वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण भएको थियो। उनलाई नातामा भान्जी पर्ने समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय