निजगढ,राष्ट्रपती तराई मधेस चुरे संरक्षण तथा विकास समितिका भुगर्भविद प्रेमनाथ पौडेलसहितको टोलीले निजगढ नगरपालिकाले प्रस्ताव गरेको नदीजन्य पदार्थ उत्खनन क्षेत्रको सोमबार निरीक्षण गरेको छ ।
निजगढ नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का लगाउने तयारी गरेपछि उत्पन्न विवादको निरुपण गर्न भनेर पौडेलसहित आएको टोलीले नगरपालिका वडा नम्बर १ को धन्सार, वडा नम्बर ३ को बगरे, ४ को बकैया, वडा नम्बर १२ को भक्तलाल र १३ को शक्ति खोलामा प्रस्तावित उत्खनन क्षेत्रको निरक्षण तथा अनुगमन गरेको हो ।
नगरपालिकाले बकैया, धन्सारसहित यो वर्ष बगरे, लाल, शक्ति र भक्तलालसमेत वन र चुरे क्षेत्रमा पर्ने ५ वटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि ठेक्का लगाउन खोजेको भन्दै डिभिजन वन कार्यालयले आपत्ति जनाएपछि विवाद शुरु भएको हो । वन कार्यालयका प्रमुख मन्जुर अहमदले वन र चुरे क्षेत्रमा पर्ने नदीहरुमा कानुन विपरित आईईई प्रतिवेदन स्वीकृत गरेर ठेक्का लगाउन खोजेको भन्दै जिल्ला समन्वय समिति बाराको बैठकमा विरोध जनाउनुभएको थियो ।
जिल्ला समन्वय समितिको बैठकले चुरे र वन क्षेत्रसंग समन्वय गरेरमात्रै ठेक्का लगाउने र त्यसको लागि चुरेको टोली बोलाउने निर्णय गरेपछि विज्ञसहितको टोलीले उत्खनन क्षेत्रको अनुगमन गर्न निजगढ आएको हो ।
‘जिल्ला समन्वय समिति बाराले विवाद निरुपण गर्न भनेर कार्यालयमा पत्राचार गरेको थियो, भूगर्भविद पौडेलले भन्नुभयो, प्रस्तावित उत्खनन क्षेत्रको निरीक्षण र अवलोकन गरियो, अब तथ्याङ्क विश्लेशष गरेर निर्णयमा पुगिने छ ।’ पौडेलले नगरपालिकाले तयार पारेको आईईई रिपोर्ट र त्यसमा उल्लेख विवरण तथा कार्यालयको तथ्याङ्कबीच तुलनात्मक अध्ययन गरेर रिपोर्ट तयार पारिने र सोही अनुसार नगरपालिकाले प्रस्ताव गरेको क्षेत्रबाट उत्खनन गर्न मिल्ने वा नमिल्ने निक्यौल हुने बताउनुभयो । चुरेसंग समन्वय गर्न भनेर नगरपालिकाले हाल ठेक्काको बोलपत्र पेस गर्ने समयसिमा २ साताको लागि थप गरेको छ । इबिडमार्फत बोलपत्र पेस गर्न साउन १३ गते पहिलो पटक सूचना प्रकाशित गरिएकोमा समय थपेर हाल भाद्र २५ गतेसम्म पुर्याइएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले भने प्राविधिक कारणलेमात्र बोलपत्र पेस गर्ने समय थपिएको बताउनुभएको छ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपती रबिन कर्णजित, डिभिजन वन कार्यालयका सहयायक वन अधिकृत हरीशंकर साह र संचारकर्मीको सहभागिता रहेको थियो । टोलीमा निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेबी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत कार्की पनि सहभागी हुनुभएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले भने नगरपालिकाले प्रस्ताव गरेको अधिकांश क्षेत्र विपदको दृष्टिले जोखीमपूर्ण देखिएकोले उत्खनन आवश्यक भएको बताउनुभएको छ । ‘केही प्वाइन्ट बाहेक अधिकांश स्थानमा उत्खनन जरुरी देखियो, उहाँले भन्नुभयो, प्रकृया पुरा गरेर त्यस्ता क्षेत्रबाट नगरपालिका आफैले पनि उत्खनन गर्न सक्ने छ ।’
नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया, धन्सार सहित यो वर्ष बगरे, लाल, शक्ति र भक्तलासमेत गरी वन र चुरे क्षेत्रमा पर्ने ५ खोलाबाट १ करोड ६१ लाख १ हजार ९ सय ६९ घनफिट गिटी, बालुवा र ढुङ्गा उत्खनन र निकासीकोलागि भ्याट बाहेक १२ करोड ८८ लाख १५ हजार ७ सय ५२ रुपैयामा ठेक्काको बोलपत्र आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय