काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ । यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो । सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
विशेष गरि १० बुँदे कार्यन्वयन नभएकोमा भीम रावलकै अशन्तुष्टी रहेकाले उनकै संयोजकत्वमा शक्तिसाली कार्यदल बनाइएको हो । कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।
एमाले स्रोतका अनुसार कार्यदलमा शंकर पोखरेल नभएसम्म समाधान नहुने सबै नेताको आशय बुझेपछि पोखरेललाई थपिएको हो ।सुदूरपश्चिम प्रदेश लगायतका विषयमा छलफल गरेर टुंग्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको भट्टराईले बताए ।
‘१० बुँदे कार्यन्वनबारे पनि व्यापक छलफल गर्यौं,’ उनले भने, ‘पार्टी अध्यक्षले सकरात्मक ढंगले कार्यन्वयन गर्ने आश्वसान दिनु भएको छ। सबैलाई समेट्ने सकरात्मक जवाफ दिनु भएको छ।’
माओवादीबाट आएकाहरुको पनि उचित व्यवस्थापन गर्ने र १० बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन सहमति भएको भट्टराईले जानकारी दिए। हिजो सकिएको केन्द्रीय समिति बैठकमा रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।
श्रोतः नेपाल प्रेस