बारा
तराईका किसानले सिजनमा यूरिया मल नपाएको भन्दै सरकारको चर्को आलोचना भएको छ । जिल्लाको सदुरकाम कलैयामा बुधबार किसानहरुले सरकारको आलोचना गर्दै तत्काल यूरिया मल उपलब्ध गराउन सरकारसँग माग गरे ।
आईटी आर्मीको किसान मोर्चाको अगुवाईमा निस्कीएको किसानहरुको समुहले नारा जुलुस सहित कलैया बजार परिक्रमा गरेको थियो । तत्काल यूरिया मल उपलब्ध गर । अन्नदातालाई पेन्सनको ब्यवस्था गर, भन्ने नारा लेखिएको ब्यानर बोकेर बजार परिक्रमा गरेको किसान समुहले जिल्ला प्रशासन कार्यालय बाराको मुल गेटमा कोणसभा गरेको थियो ।
किसान मोर्चाको कार्यक्रमलाई यूवा नेता उमेश कुश्वाहले सम्बोधन गर्दै वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको बताए । चाहिने बेला मल दिन नसकेको सरकारले भारतबाट किसानलाई आफैं ल्याउन दिनु पर्ने माग गरे । सरकार किसानको समस्यामा भन्दा पनि आफ्नै कुर्सि जोगाउने ध्याउन्नमा रुमलिएको भन्दै कुश्वाहले देउवा सरकार कठपुली बनेको आरोप समेत लगाए ।
उनै कुश्वाहको अगुवाईमा किसानलाई तत्काल यूरिया मल देउ, पेन्सनको ब्यवस्था गर, कृषिमा प्रयोग हुने टेक्टरमा कर हटाउ भन्ने लगाएत आधादर्जन माग समेटेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
किसान नेताहरु सहित एकसय जनाबढी किसानहरु ब्यानर तथा प्लेकार्ड सहित कार्यक्रममा सहभागि भएका थिए ।