
बडहर्वा बारा
२७ असोज २०७८


भिडभाडको मौका छोपी पसलको सामान चोरीगरी भाग्न खोज्ने २ जना बडहर्वाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ९ रामपुरका बर्ष २२ को उमेश पास्वान र बर्ष २१ को अलीअख्तर अंसारी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार अपराहन्न जीतपुरसिमरा उपमहानगपालिका १८ को बडहर्वा चोकबाट पक्राउ गरिएको हो । स्थानिय जितेन्द्र चौधरीले संचालन गरेको आयुष स्टेसनरी एण्ड जेनरल स्टोरबाट कपडा चोरी गरेर भाग्ने क्रममा पास्वान र अंसारीलाई पक्राउ गरिएको प्रहरी चौकी जैतापुरले जानकारी दियो ।
बुधबार दिउँसो साँढे ३ बजेको समयमा दशैंको सामान किन्नेहरुको भिडभाड रहेको मौका छोपी पुरुष टिसर्ट र लेडिज चप्पल चोरीगरी मोटरसाईकलमा भाग्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । थप अनुसन्धान तथा कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको सिमरा प्रहरीले जनाएको छ ।
ग्राहकको भिड थियो । सोहीक्रममा कपडा किनमेलको वहानामा पसेका उनीहरुले करिब १ हजार ५ सय बराबरको भेस्ट चप्पल झोलामा हालेर भाग्न खोज्दा समातेर प्रहरीमा बुझाएको पसल संचालक चौधरीले बताए ।
उनीहरुले सामान लुकाएर झोलामा हाले । म नदेखेझैं गरी हेरीरहेको थिँए । फटाफट मोटरसाईकल चढेर हिन्न खोजे । मैले पैसा भन्दा उल्टै केको भनेपछि प्रहरी बोलाएर जिम्मा लगाएँ उनले सुनाए ।