
पुष्पराज खतिवडा
१२ कार्तिक २०७८
बारा
गतसाताको बेमौषमी बर्षाका कारण धान बालिमा भएको क्षेतीको वास्तविक विवरण संकलन हुने भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको कार्तिक १० गते बुधबार कलैयामा बसेको बैठकले क्षेतीको यथार्थ विवरण पेश गर्नेगरी क्षेति मुल्याङ्ककन समिति नै गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको बैठकले प्रारम्भीक क्षेतीको विवरण प्राप्त भएपनि यथार्थपरक विवरणका लागि पालिकाका वडाअध्यक्षहरुको संयोजकत्वमा क्षेति मुल्याङ्ककन समिति गठन गरेको हो । बालिक्षेती भएका स्थानिय वडाका वडा अध्यक्ष संयोजक तथा स्थानिय निकायमा कार्यरत कृषि तथा पशुका कर्मचारी र प्रहरी कार्यालयका ईन्चार्ज सदस्य रहने गरी ३ सदस्य क्षेति मुल्याङ्ककन समिति बनाएको हो ।
स्थानिय पालिकाको विपद् ब्यवस्थापन समितिबाट समेत अनुमोदन गरि जिल्ला विपद् ब्यवस्थापन समितिमा पेश गर्नुपर्ने विवरणको ढाँचा तयार गर्ने जिम्मा कृषि ज्ञान केन्द्र बारालाई बैठकले दिएको छ । क्षेती भएको बालिको विवरण सहित कृषकहरुले यथाशिघ्र संबन्धित वडा कार्यालयमा लिखित निवेदन दिनु पर्ने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनु भयो ।


यस्तै संघ सरकारले बर्षाका कारण धानबालिमा भएको क्षेतीका आधारमा २० देखी ६५ प्रतिशत सम्म राहत उपलब्ध गराउने बताएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
साना किसान बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ । त्यस्तै, मध्यम किसान अर्थात् १० कठ्ठादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने जनाईएको छ ।
बारा जिल्लामा मात्रै ९ हजारबढी हेक्टर क्षेत्रफलमा लगाईएको धानबालिमा क्षेती भएको प्रारम्भीक अनुमान गरिएको छ । जिल्ला विवद् ब्यवस्थान समितिको निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका १६ वटै पालिकालाई पत्राचार गरी क्षेतीको वास्तविक विवरण माग गरेको ज्ञान केन्द्र प्रमुख यादवले जानकारी दिनु भयो ।