३ मंसिर २०७८
बारा
जिल्लाका ६ वटा कृषि सहकारी संस्थाहरु सरकारी समर्थन मुल्यमा किसानको धान खरिद गर्न तयार भएका छन् । विहिबार संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बाराले जिल्लाका ५ वटा सहकारीसँग धान खरिदको सम्झौता भएको जनाएको हो ।
सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७५२ र मध्यम २ हजार ९०२ समर्थन मुल्य निर्धारण गरेको छ । आगामी पौष मसान्त सम्मको समय सिमामा प्रति सहकारी अधिकतम् ५ हजार मेट्कि टन धान खरिदका लागि सम्झौता भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बाराले जनाएको छ ।
सम्झौता गर्ने सहकारीहरुमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका साना किसान कृषि सहकारी संस्था लि.डुमरवाना, मनहर्वा र करैयामाई गाउँपालिकाको तेतरिया गरी ३ वटा छन् । यस्तै जानकी कृषि सहकारी संस्था लिमिटेड सिम्रौनगढ, लक्ष्मी बहुमुखि सहकारी संस्था लिमिटेड कोल्हवी र ग्रामिण उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवताल भएको परियोजना कार्यालयका प्रमुख डा.सुरेन्द्र यादवले बताउनु भयो ।
१८ प्रतिशत सम्मको चिस्यान भएको धान तोकिएको मुल्यमा खरिद गरी १५ दिन भित्र बैंक मार्फत भुक्तानी गर्नुपर्ने प्रावधान छ । धान विक्रि गर्ने किसानको विवरण सहित निर्धारित स्थानबाट मात्रै धान खरिद गर्नु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार किसानको धान खरिद गरे वापत सहकारीलाई प्रति क्विन्टल ११२ रुपैैंयाका दरले सरकारले अनुदान दिने ब्यवस्था रहेको यादवले बताउनु भयो ।
जिल्लामा करिब ७ सयबढी सहकारी रहेका छन् । तर ६ वटा सहकारीले मात्रै धान खरिद गर्ने प्रकृयामा भाग लिएका हुन् । सरकारले तोकेको समर्थन मुल्य र बजार भाउमा प्रति क्विन्टर ५ सय रुपैंया सम्म फरक छ । जिल्लामा दुबैखाले धान २ हजार २ सय देखी २ हजार ४ सय सम्म विक्रि वितरण हुँदै आएको जिल्ला कृषि संघ बाराका अध्यक्ष मिश्रलाल सहनीले बताउनु भयो ।
अहिले घाटामै धान किनेर भण्डारण गर्ने र मुल्य वृद्धिका समयमा विक्रि गर्ने योजनामा धान खरिद गर्न लागिएको हो । हाल भण्डारण गर्ने र उपयूक्त भाउ पाएका बखत बिक्रि गर्ने योजना रहेको वहाँको भनाई छ ।
समर्थन मुल्य निर्धारण गरेर राम्रोपनि सहकारीहरुले कामगर्न सक्ने अवस्था छैन । सरकारले समर्थन मुल्य कायम गर्दा वजारको तुलनामा अधिक मुल्य तोक्यो । गतबर्षको तुलनामा भाउ अझै बढायो तर सहकारीहरुलाई दिने भनेको सुविधा भने बढाएन । यस्तो अवस्थामा सबै सहकारीले सरकारको कार्यक्रममा खुशी भएर काम गर्न सक्दैन् । घाटामा हुने कारोबारका लागि प्रोत्साहीत गर्न पनि गरो हुन्छ संघ अध्यक्ष सहनीले भन्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय