काठमाण्डौंः सुनका गहना र सुनमा दुई किसिमका भन्सार महशुल अर्थात शुल्क तोकिएको छ । विदेशबाट फर्कनेले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्, यसमा भन्सार शुल्क लाग्दैन । तर सोभन्दा माथिको गहनामा भन्सार शुल्क तिर्नुपर्छ । ५० देखि १ सय ग्रामसम्म सुनका गहना ल्याउँदा प्रति दश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महशुल बुझाई फिर्ता लैजान सक्छन् । सो परिमाण भन्दा बढी ल्याएमा जफत हुन सक्ने व्यवस्था छ ।
तर सुनमा भने केही कडा व्यवस्था छ । जम्मा १ सय ग्रामसम्म सुन ल्याउन सकिने व्यवस्था छ । १ सय ग्रामसम्मको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेपछि काँचो सुनलाई गहना भनी ल्याउने क्रम घटेको छ । गहनाको रुपमा सामान्य तोडमोड गरेर काँचो सुन नै भित्रिन थालेपछि भन्सार कार्यालयले कडाइ गरेको हो ।
भन्सार कार्यालयले गत सोमबार एकैदिन ४ सय १५ जना यात्रुबाट २१ किलो ‘अवैध’ तोडमोड गरिएको काँचो सुन बरामद गरेको थियो । सोमबारको तुलनामा शुक्रबार र शनिबार बरामद सुनको मात्रा घटेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिनुभयो ।
बुधबार ३ सय २६ जना यात्रुबाट १५ केजी १६ ग्राम र बिहीबार २ सय ११ जना यात्रुबाट ९ केजी ७७ ग्राम सुन बरामद गरेको थियो ।
बरामद भएको सुनमध्ये शनिबार ७१ जनाले भन्सार महशुल तिरेर ३ केजी १० ग्राम सुन फिर्ता लगे । यसबाट २९ लाख ७९ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन भएको भट्टराईले बताउनु भयो ।
स्रोत ः ईकान्तीपुर