पुष्पराज खतिवडा
मनहर्वा,बारा
२० मंसिर २०७८
बैंक वित्तिय संस्थाहरुबाट सर्वसाधारणले कृषि कर्जा लिन सहज नभएको भन्दै प्रदेशसभा सदस्य पारस साहले सहुलियत सरकारी कर्जा सहकारी मार्फत परिचालन गर्न माग गर्नु भएको छ ।
सोमबार कलैया उपमहानगरपालिका वडा न.२२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै साहले बैंकहरु कृषक र कृषि पेशा प्रति गैह्जीम्मेवार रहेको भन्दै यस्तो माग गर्नु भएको हो ।
किसानले कृषिकर्म गर्न कर्जा माग्दा बाटोले छोएको मात्रै जमिन खोज्नु भनेको किसानलाई उपेक्षा गर्नु हो । ठुला बैंकहरुले सर्वसाधारण जनतालाई उपेक्षा गरिरहेका छन् । त्यो राम्रो हैन । जुन खेतमा खेती गर्नुछ, त्यही खेत धितो राखेर कर्जा माग्दा बैंकहरुले बाटा भएकै खोज्नु भनेको राज्यको सुविधाबाट गरिब विपन्न किसानहरुलाई बन्चित गर्नु हो, वहाँले भन्नु भयो ।
मूल्य कहाँ पुगिसक्यो । साना किसानहरुले लिने कर्जाका लागि समेत बाटो खोज्नु जायज हैन । बाटोको सट्टा उसको योजना र आयश्रोत खोजनु पर्ने वहाँको भनाइ थियो ।
राज्यको सुविधा सबैले पाउनु पर्दछ । त्यो अधिकार हो । यस प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु, वहाँले भन्नु भयो । सरकाले दिँदै आएको महिला, यूवा, उद्यमी, शैक्षिक लगायतका विभिन्न सहुलियत कर्जा बैंकहरुबाट मात्रै नभई सहकारीहरु मार्फत सहज बनाईनु पर्ने वहाँको भनाई थियो ।
ठुला बैंक वित्तिय संस्थामा सर्वसाधारणको पहुँच पुग्दैन । बैंकहरुको झंझटिलो प्रकृया पुरागर्नै उनीहरुले सक्दैनन् । त्यस कारण सहकारीहरु मार्फत सरकारी सहुलियत कर्जा परिचालनको उचित ब्यवस्था गरिनु पर्ने साहले बताउनु भयो ।