कैलाली । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा नवविवाहित दम्पती सहित चार जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनाराको मृत्यु भएको छ ।
त्यस्तै पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
मृतक मनिसा र प्रेम नवविवाहित जोडी रहेको हुन् । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का ४० वर्षीय जानकी भट्टराई, ३८ वर्षीय बिष्णु भट्टराई, ६६ वर्षीय मानध्वज भट्टराई, १० वर्षका दिपक भट्टराई, २८ वर्षीय ओम प्रकाश भट्टराई, र ४० वर्षीय गोबिन्दी बिक घाइते भएका छन् ।
४० वर्षीय जानकी भट्टराईलाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।
चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो।
श्रोत ः नेपाल प्रेस