सिरहा । आमहड्तालको अवज्ञा गरेको भन्दै आईतबार विहानैबाट जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । किसानलाई पक्राउ गरेको विरोधमा आमहड्ताल घोषणा गरिएको थियो । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् । गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।
पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।
जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व(पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।
आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।

श्रोत ः नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय