पुष्पराज खतिवडा

बछ्यौली, (चितवन)

व्यवसायिक पशुपालनबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ चितवनको रत्ननगरनपालिका वडा नम्बर ६ बछ्यौलीको दुर्गा रिजाल परिवार ।

उहाँले संचालन गरेको माँ भवानी कृषि तथा पशुपालन व्यवसायबाट मासिक १ लाख रुपैया भन्दा बढी आम्दानी लिदै आउनुभएको छ ।

५० वटा दुहुना भैंसी । दैनिक ३ सय लिटर दुध उत्पादन । आधा दर्जन स्थानीय विपन्नलाई रोजगारी । भैंसीसँगै पाडापाडी र हाँस पालन । दिगो आम्दानीको उत्कृष्ठ व्यवसाय हो । रुजप्रसाद रिजालकी कान्छी बुहारी दुर्गा अधिकारी रिजालले संचालन गरेको फार्मको वास्तविकता । गत महिना फर्ममा पुग्दा दुर्गा आफूूले पालेका भैसीको स्याहारसुसारमा ब्यस्त देखिनुहुन्थ्यो ।

धादिङ्ग गल्छी गाउँपालिका वडा नम्बर ४ माचटारमा जन्मनु भएकी दुर्गाको १५ बर्ष अघि चितवनका सुदर्शन रिजालसँग विवाह भयो । सुदर्शन स्थानीय साना किसान सहकारी संस्था लिमिटेड बछ्यौलीमा सहायक प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । सुदशर्नकी पत्नी दुर्गाको भागमा पशुपालन व्यवसाय परेको छ । सुदर्शन र दुर्गाको एउटा १३ वर्षका छोरा छन् । बुबासँगको संगोलमा उहाँहरुको परिवार छ ।

पशुपालन फार्मको रेखदेख र व्यवस्थापनसँगै घरधन्दा र छोराको स्कुल व्यवस्थापनको थप जिम्मेवारी दुर्गाको काँधमा छ । उहाँलाई प्राय सुसुरा र फुर्सदका समयमा श्रीमान्ले सहयोग गर्दै आउनुभएको छ । विहान घर धन्दामा दुर्गा व्यस्त हुँदा कामदारहरुसँगै सुसुरा बुवाले भैसी दुहुने र दुध बिक्री वितरणमा सहयोग गर्ने गरेको दुुर्गाले सुनाउनुभयो । कार्यालय विदाको समयमा दुहुना भैंसी र पराल खरिदको काममा सुदर्शनको सहयोग रहँदै आएको छ ।

भैंसीबाट उत्पादित पाडापाडी र पालिएका हाँसको बिक्रीबाट व्यवसायको आधा खर्च जोहो हुँदै आएको दुर्गाले बताउनुभयो । अहिले अधिकांश भैसी बकेर्ना छन् । जसले गर्दा दुध उत्पादनमा कमी आएको छ । यस्तो बेला खर्च धान्ने मात्रै भएपनि बार्षिक आम्दानीको तुलना गर्दा मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैंयासम्म खुद बचत हुने गरेको दुर्गाले बताउनुभयो ।

‘व्यवसाय वृद्धि गरिरहेका छौं, दुर्गाले भन्नुभयो, आम्दानीलाई दोब्बर गर्ने हाम्रो योजना छ । गोठ निर्माण भैंसी खरिदमा मात्रै हालसम्म एक करोड ५० लाख रुपैंया लगानी भएको छ । ३ विगाह जमिन भाडामा लिएर घाँस खेती गरेका छौं ।’

भैंसीलाई पराल, हरियो घाँस सामान्य दाना र प्रशस्त पानी भए पुग्दो रहेछ । पशुआहारको दिगो व्यवस्थापनमा लागेको दुर्गाले सुनाउनुभयो । फार्ममा उत्पादन भरेको दुध आधाजति गाउँघरमै खपत हुने गरेको र बाँकी स्थानीय मिठाइ उत्पादकले गोठैबाट लैजाने गरेको उहाँले बताउनुभयो ।

पशुपालन व्यवसायलाई प्रदेश सरकारले समेत सहयोग गरेको छ । गोठ सुधारका लागि ५ लाख रुपैंया बागमती प्रदेश सरकारबाट समेत अनुदान सहयोग पाएको उहाँले बताउनुभयो । ‘थप सहयोगको पनि आश्वासन पाएका छौं,’ दुर्गाका पती सुदर्शशनले भन्नुभयो, व्यवसायिक रुपमा दिगो काम गर्दा सरकारले समेत सहयोग गर्दो रहेछ ।’

थोरै लगानीबाट ३ वर्ष अगाडि सुरु गरिएको पशुपालन व्यवसायले सुन्तुष्टि दिएको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय