पुष्पराज खतिवडा

२० पौष २०७८

बारामा ३७ हजार १६१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाराले दिएको जानकारी अनुसार पौष १८ गतेसम्म जिल्लामा नयाँ र पुराना गरी ४ लाख १३ हजार ७ जना मतदाता पुगेका छन् ।

कार्यालयले मंसिर तेस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन गरेको थियो ।

जिल्लाका १३ वटा पालिकामा २ चरणमा टोली समेत खटाइएर थियो । टोलीमा १९ हजार ३७९ र कार्यालयबाट १७ हजार ७८२ गरी जम्मा ३७ हजार १६१ जना नयाँ मतदाताको नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत सरोज कुमार चौधरीले बताउनुभयो ।

९ हजार ७३६ महिला र ९ हजार ६४३ पुरुष गरी १९ हजार ३७९ जनाले टोलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बाराले मंसिर १७ गतेदेखि पौष २ सम्म ७ वटा पालिका र पौष ४ गतेदेखि १८ गतेसम्म ६ वटा पालिका गरी जम्मा १३ वटा पालिकाहरुमा दुईचरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो ।

जिल्ला प्रशासान कार्यालय निर्वाचन कार्यालय सिमरा र कोल्हबी ईलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा नामावली संकलन भइरहेको अधिकृत चौधरीले बताउनुभयो । उल्लेखित कार्यालयसम्मै पुगेर ८ हजार ३५ जना महिला र ९ हजार ७४७ जना पुरुषले नाम दर्ता गरेका हुन् ।

कलैया जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा निर्वाचन कार्यालय तथा ईलाका प्रशासन कार्यालय भएका कारण टोली नपठाइएको चौधरीले बताउनुभयो ।

पौष १८ गतेसम्म चलेको टोलीमा सबैभन्दा बढी ३ हजार ५३६ जना सिम्रौनगढ नगरपालिकामा र सबै भन्दा कम १ हजार १० जना देवताल गाउँपालिकामा मतदाता थपिएका छन् । यसरी टोलीमा नाम दर्ता गर्नेमा युवाहरुको संख्या अधिक रहेको निर्वाचन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

बारामा यस अघि १ लाख ६८ हजार ११९ महिला, २ लाख ७ हजार ७१६ पुरुष र ११ जना तेस्रो लिङ्गी गरी ३ लाख ७५ हजार ८४६ मतदाता थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय