बारा
४ माघ २०७८
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा दुधभन्दा बढी अबैध मदिरा उत्पादन हुने गरेको पाईएको छ । प्रहरीको शंरक्षणमै यहाँ मदिराको उत्पादन बढेको जानकारहरु बताउँछन् । अबैध मदिरा उत्पादन यहाँका अधिकांशको आय आर्जनको माध्यम बनेको छ । तामाङ्ग , मगर लगायतका जनजाती सहित क्षेत्री परिवारका सदस्यहरुले समेत निर्वाध रुपमा मदिरा उत्पादन गर्ने गरेको पाईएको छ ।
विपन्न परिवारले विहान बेलुकी हातमुख जोड्नकै लागि मदिरा उत्पादनलाई दैनिक आम्दानीको पेशा बनाएको बताउँने गरेका छन् । गरिबहरुले उत्पादन गर्ने मदिरा यहाँका एकदर्जन महिला कारोबारीहरुले संकलन गरि मोटरसाईकल तथा अटोहरुमा राखेर निर्वाद रुपमा सदरमुकाम कलैयासँगै नेपाल भारतको सिमा, पर्साको विरगजंसम्म लगेर दैनिक रुपमा बेच्ने गरेका छन् । त्यसका लागि प्रहरीले नजराना बुझेर बाटो खाली गरिदिने गरेको स्वमं कारोबारीहरुनै बताउँछन् ।
सर्वसाधारणले उत्पादन गरेको राम्रो मदिरामा संकलकहरुले पानि मिसाएर बजारहरुमा लगेर महँगोमा बेच्ने गर्दैआएका छन् । साप्ताहिक रुपमा भुक्तानी तालिका बनाएर दैनिक अबैध मदिरा सँकलन गर्नेहरुबाट प्रहरीले मासिक रुपमा मोटो रकम असुल्दै आएको छ । एकजना संकलक तथा मदिरा कारोबारीका अनुसार प्रहरीका स्थानिय यूनिटहरुमा एकजना बराबर २५ हजार महिनावारी बुझाउने गरिएको छ । त्यसका लागि उत्पादकहरुसँग प्रति ५ सय रुपैंया मासिक रुपमा काटिने गरिएको नाम नछाप्ने शर्तमा एक महिला कारोबारीले बताउनु भयो । बडहर्वा, लामिडाँडा र जैतापुरमा अधिक परिवारले रक्सी पार्ने गरेका छन् । उनीहरुले बनाएको यहाँका एकदर्जन महिलाहरुले संकलन गरेर बजार सम्म लैजाने गरेकाछन् ,ती कारोबारीले भन्नु भयो ।
उनका अनुसार मासिक रुपमा प्रहरीलाई रकम बुझाउँदा प्रहरीले लाईन दिने ,बेवास्ता गर्ने बजार लैजाने समय र बाटो देखाउने गरेर सहयोग गर्दै आएका छन् । प्रहरीकै शंरक्षणमा यस क्षेत्रमा अबैध मदिरा उत्पादन ,विक्रिवितरण र ओसार पसार बढेको उनको भनाई छ ।
ती कारोबारीका अनुसार यस वडाभरी दैनिक संकलन हुने दुध भन्दा रक्सी बढी संकलन हुँदै आएको छ । दैनिक एकहजार लिटर दुध उत्पादन हुने वडा नं.१८ मा करिब १२ सय लिटर रक्सी उत्पादन हुँदै आएको छ ।
यता महँगो दाउरा, चिनी, सख्खर र अन्नमा लगानी गरेर उत्पादन गर्नेहरु भने गाँस धान्नै मुस्कील हुने गरेको बताउँछन् । हामीले जोखिम मोलेर उत्पादन गर्ने रक्सीमा कारोबारी(संकलक) र प्रहरी मालामाल बनेका छन्, स्थानिय एक उत्पादकले बताउनु भयो ।
बढ्दो अबैध मदिरा कारोबारमा प्रहरीको शंरक्षण रहेको कुरा प्रहरीका अधिकारी मान्न भने तयार छैनन् । कानुनले बर्जित गरेको कुरालाई प्रहरीले शंरक्षण गर्ने कुरा हुँदैन । यस्तो भएकोभए यस्तो गतीविधि तत्काल नियन्त्रण गर्ने तर्फ हाम्रो ध्यान जाने छ, भर्खरै मात्रै जिल्ला आउनु भएका बाराका प्रहरी प्रमुख उपरिक्षक दिलिपसिंह देउवाले भन्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय