
पुष्पराज खतिडा
बारा
७ माघ २०७८
कलैया उपमहानगरपालिका २४ बेलवाडी श्रीपुरमा रहेको रामजानकी मठका पुजारी रामशरण दास (बाबा) ९१ बर्षको हुनुभयो । ४५ बर्ष देखी मठको आश्रममा बस्दै आउनु भएका उहाँले ४२ देखी निरन्तर स्थानिय बालबालिकालाई ट्युसन पढाउँदै आउनु भएको छ ।
बिहान सबेरै उठेर पुजापाठ गरेपछी डेढघण्टा र साँझ २ घण्टा बालबालिकालाई पढाउने वहाँको दिनचर्यानै बनेको छ । हाल ६० जना बालबालिका उहाँसँग पढ्दै आएका छन् । ६ कक्षासम्म पढेको बताउने बाबाले ४२ बर्षदेखी नियमित रुपमा स्थानिय बालबालिकालाई पढाउँदै आउनु भएको छ ।
स्कुलसमय अघिपछि र विदाकादिन बालबालिकाहरु ट्युसन पढ्न आउने गरेका छन् । पूजारी बाबाका नामले बच्चाहरुले वहाँलाई सम्बोधन गर्छन् । सोही पालिकाको वडा नं.१६ विद्यानगरमा उहाँकी पत्नी र छोराहरु बस्छन् । पारिवारिक संसारबाट विरत्तीएर ४५ बर्ष अघि घर छोडेको बताउने बाबाले २ बर्ष साधुसन्तहरुसँग विताउनु भयो । त्यँहीबाट आफ्नो जात त्यागगरि दास (सन्यासी) भएको सुनाउनु भयो । दास हुन अगाडी उहाँको थर कुशवाह हो । तर अहिले आफु कुशवाह नरहेको बताउनु हुन्छ ।
स्थानियले उपलब्ध गराउने सहयोग र बालबालिका पढाए वापत पाईने रकमले उहाँको गर्जो चलेको छ । महिना भरि दुईसमय बालबालिका पढाए वापत एकजना बराबर ५० रुपैयाँ पाईन्छ । त्यसमा पनि कतिले दिँदैनन् । कतिले मन्दिरको काममा सरसहयोग गर्ने गर्दै आएका छन् । उनीहरुसँग पैसा लिने कुरै भएन, बाबा भन्नु हुन्छ । सुरुमा मासिक १० रुपैंया दिन्थे अहिले ५० भयो ,बाबाले सुनाउनु भयो ।
कुनैदिन कुनै कारण बच्चाहरुलाई पढाउन नपाउँदा मलाई नरमाईलो लाग्ने गरेको सुनाउँदै उनीहरुसँगै भुल्ने बानि परेको बताउनु हुन्छ । बच्चाहरुको आवजसँगै रमाउने बानी परेको छ । कक्षा १ देखी ६ सम्मका नानीबाबुहरुलाई होमवर्क गर्न लगाउने , सिकाउने, कन्ठ गर्नुपर्ने कुराहरु कन्ठ गर्न लगाउने गर्दै आएको छु , वहाँ सुनाउनु हुन्छ ।
परिवारले वास्ता गर्दैन । समाजले पालेको छ । फुर्सदको समय समाजलाई दिँदै आएको छु । मसँगै ट्यूसन पढेका धेरै बच्चाहरु जागिरे छन् । कोही मास्टर, कोही हेड मास्टर , संघसंस्थामा जागिरे, बैंकका म्यानेजर बनेका छन् । खुशी लाग्छ । सम्झँदा आनन्द आउँछ बाबाले सुनाउनु भयो ।
बाबासँग पढ्न आउने बच्चाहरु घरबाटै बोरा बाकेर आउँछन् । जाडो होस् या गर्मी बारै महिना बाबाले यहाँका बालबालिकालाई पढाउँदै आउनु भएको छ, स्थानिय सन्तोष ठाकुरले बताउनु भयो । बाबाले हाम्रो समाजमा ठुलो योगदान गर्नुभएको छ । उहाँले जोखाना हेर्ने झारफुक गर्ने जग्गा जमिन नापजोख गर्ने काम समेत गर्दै आउनु भएको छ । मेरा बुवा काकाहरुले समेत उहाँ बाबासँगै पढ्नु भयो । मैले पनि पढें ,सन्तोषले सुनाउनु भयो ।
९१ बर्षको भईसक्नु भएका बाबाका आँखा अझै तगडा छन् । चस्मा लगाएपछि अझैपनि किताबका साना अक्षर मज्जाले चिन्नु हुन्छ । शरिर निकै बुढो भएपनि उहाँमा सेवागर्ने भावना तन्नेरी छ, अर्का स्थानिय लालु चौधरीले सुनाउनु भयो । चौधरी भन्नु हुन्छ, बाबाले समाजलाई ठुलो गुण लगाउनु भएको छ । त्यो गुणको ऋणी छ ,हाम्रो समाज । राज्यले सम्झनु पर्ने एउटा पात्र हुनुहुन्छ । तर त्यस्तो वातावरण छैन ।
बाबासँग ट्यूसन पढ्न आएका जुमदिन अंसारी, खुशी खातुन,फत्मा खातुन, रश्मी खातुन लगायतका बालबालिकाहरुले बाबाको शिक्षण कलामा खुशि मिल्ने गरेको बताए । वावाले बुझाएर सिकाउने हुँदा सहज हुने उनीहरुको भनाई छ ।


फोटोमा ः बालबालिकाहरु पढाउँदै ९१ बर्षका रामशरण दास (बाबा)