१८ माघ २०७८

काठमाडौं : सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६।०४ रुपैयाँ कायम गर्ने निर्णय हो । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँबाट बढाएर ५६।०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।

कच्चा दूधको मूल्य वृद्धि फ्याट र एसएनएफको आधारमा गरिएको प्रवक्ता सञ्जेलले बताए । सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ९धृतांश बाहेकको ठोस पदार्थ० ८ प्रतिशत कायम गरिएको छ । फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन् ।

मन्त्रालयका अनुसार मूल्य निर्धारण गर्दा यस अघिकै फर्मुलाअन्तर्गत फ्याटलाई ६।८१ रुपैयाँ र एसएनएफलाई ३।६० रुपैयाँले गुणन गर्दा हुने कुल मूल्यका आधारमा नयाँ मूल्य तोकिएको हो ।

किसानले पाउने मूल्य बढे पनि उपभोक्ताले तिर्ने दूधको मूल्य भने वृद्धि भइनसकेको मन्त्रालयले जनाएको छ । किसानबाट खरिद गर्ने दूध प्रशोधनका लागि लाग्ने लागत जोडेर उपभोक्ता मूल्य मन्त्रालयले पछि तय गर्ने प्रवक्ता सञ्जेलको भनाइ छ । ‘राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा उपभोक्ता मूल्यपछि तय गरिने सहसचिव एवम् प्रवक्ता सञ्जेलले जानकारी दिए।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय