बारा
२२ माघ २०७८
स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाराले शनिवार अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गरेर मनाएको छ ।
चौतारीको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले कलैया स्थित अमृता अनाथ आश्रमका बालबालिका लागि चामल, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ, हर्लिक्स, माक्स, तरकारी लगायतका खाद्यान्न प्रदान गरेको हो । प्रेस चौतारी बाराका जिल्ला अध्यक्ष दिवाकर भण्डारी र नेकपा एमाले बाराका अध्यक्ष विनोद साहले खाद्यान्न सामाग्री आश्रमकी संचालिका फुलमतीदेवी बस्नेतलाई हस्तान्तरण गर्नु भएको थियो ।
खाद्यान्न वितरणमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले जिल्ला अध्यक्ष साहले प्रेस चौतारीले स्थापना दिवसका अवसरमा अनाथ आश्रमलाई सहयोग गर्नु स्रहानिय कार्य भएको बताउनु भयो । पत्रकारिताको माध्यमबाट समाजलाई सूसुचित गर्दै आएका पत्रकारहरुको संगठनले सामाजिक क्रियालापमालाई सबैले अनुशरण गर्न जरुरी रहेको वहाँको भनाई थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलकुमार उपाध्यायले यस्ता गतिविधिले संगठनको गरिमा उचो हुने बताउनु भयो । समाचार लेख्ने मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्न बारा शाखाले देखाएको भूमिकाको उपाध्यायले प्रशंसा गर्नु भयो ।
यसैगरी कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम साहले चौतारी बाराको प्रयासलाई सबैले सम्मान गर्नुपर्ने बताए । आफ्नो संगठनको स्थापना दिवसको दिन अनाथ बालबालिकासँग मनाएर प्रेस चौतारी बाराले समाजमा उदाहरणीय काम गरेको साहको भनाई थियो ।
यसैगरी कार्यक्रममा आश्रमकी संचालिका बस्नेतले समाचार लेख्ने पत्रकारले अनाथ बालबालिकालाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरिन् । सामाजिक सहयोगनै मुख्य स्रोत रहेको आश्रमलाई ठुलो मात्रामा खाद्यान्न उपलब्ध गराउनुका साथै स्थापनाको उत्सव आश्रममा मनाएर प्रेस चौतारी नेपाल बाराले बालबालिकाको मुहारमा खुशी ल्याएकोमा बस्नेतले धन्यवाद व्यक्त गरिन् । अघिल्लो वर्षको स्थापना दिवस बृद्धाश्रममा मनाएको चौतारीले यसवर्ष बालबालिकासंग मनाएको हो ।
कार्यक्रममा चौतारी बाराका अध्यक्ष भण्डारीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संगठनले स्थापना दिवस बालबालिकासंग मनाएको बताए । चौतारीमा संगठित सक्रिय संचारकर्मीहरुको सहयोगबाट खाद्यान्न सामाग्री जुटाएर आश्रममा हस्तान्तरण गरिएको भन्दै अध्यक्ष भण्डारीले स्थापना दिवसलाई अर्थपूर्ण बनाउन सहयोग गर्ने सवै सदस्यप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय महाधिवेसन प्रतिनिधि पुष्पराज खतिवडा, शम्भु महत्तो, नेपाल पत्रकार महासंघ बाराका शाखाका सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिल तिवारीले गरेका थिए । उपाध्यक्ष राधेश्याम पटेलले कार्यक्रमको उदेश्य र चौतारीको स्थापना दिवसको विषयमा प्रकाश पारेका थिए ।
कलैयामा संचालित आश्रममा १७ जना बालबालिका छन् । खाद्यान्न बोकेर चौतारी बाराको टोली आश्रम पुगेपछि बालबालिकाहरु खुशी देखिएका थिए । चौतारीका सदस्य र आश्रमका बालबालिकाले स्थापना दिवसको केट काटेर खुशीयाली समेत साटासाट गरेका थिए ।