एजेन्सी । भीषण हिमपातको कारण टर्की र ग्रीसको सिमानामा कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या २२ पुगेको छ । टर्कीका अधिकारीहरुले शनिबार थप सात अप्रवासीको शव भेटिएको जनाएका छन् ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोलुले कठ्यांग्रिएर मृत्यु भएका आप्रवासीको तस्बिर सेयर गरेका छन् । ती तस्बिरमा आप्रवासीले शरिर छोप्ने कपडाको अभावमा ज्यान गुमाएको देख्न सकिन्छ ।
ग्रीस र टर्कीबीच सीमाक्षेत्रमा भएको आप्रवासी संकटलाई लिएर तनाव चुलिएको बेला हिमपातको कारण आप्रवासीले ज्यान गुमाएका हुन् । एथेन्सको लापर्वाहीले आप्रवासीको मृत्यु भएको आरोप अंकाराले लगाएको छ । तर, एथेन्सले चाहिँ अंकाराको आरोपहरुलाई अस्वीकार गरेको छ ।

युरोप छिर्न टर्की हुँदै ग्रीस जानेहरु आप्रवासीहरु उक्त सीमामा जम्मा भएका थिए ।

टर्कीस्थित गैरआवासीय नेपाली संघले मृत्यु हुनेहरुमा नेपालीहरु पनि हुनसक्ने जनाएको छ । कञ्चनपुरको कृष्णपुर -२ बंकका  दिव्यदेव अवस्थी केही दिनदेखि बेपत्ता भएको भन्दै नेपालस्थित उनको परिवारले सोधखोज गरेको छ ।

हिमपातमा परेपछि उनी सम्पर्कविहिन भएको टर्कीस्थित उनका साथीहरुले समेत बताएका छन् । काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट उनी दसैंअघि टर्की पुगेको परिवारले जनाएको छ । मंगलबारदेखि कुरा हुन नसकेको अवस्थीको परिवारको भनाई छ ।

टर्की मामिलास्थित हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले उक्त घटनामा नेपालीहरु परे वा नपरेको कुरा बुझ्ने काम भैरहेको बताएका छन् ।
टर्की–ग्रीस लगायतका मुलुकमा पछिल्लो साता भीषण हिमपातको कारण जनजीवन प्रभावित बनिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय