काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते ९फेव्रुअरी २८० भित्र नै नेपाल कम्प्याक्ट अनुमोदन हुनुपर्ने अडान दोहोर्याएको छ ।
साथै एमसीसीले उक्त मिति नै अन्तिम हुने र संसोधन कुनै पनि हालतमा नहुने समेत उल्लेख गरेको छ ।
संसोधन नभई सम्झौता अनुमोदन हुन नसक्ने रस्साकस्सी चलिरहेको बेला एमसीसीले बुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गरेको थियो ।
उक्त छलफलमा राजदूत र्यान्डी जे बेरीसमेत सहभागि थिए । अमेरिकी दूतावास स्रोतका अनुसार उक्त छलफलमा एमसीसीले सम्झौता संसोधन हुन नसक्ने र नेपाली नेताहरुले प्रस्ताव गरेको उक्त मिति नै अन्तिम रहेको स्पष्ट सन्देश दिएको थियो ।
उक्त भर्चुअल छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह(उपाध्यक्ष जोनथन ब्रुक्स सहभागि थिए । एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धन नै धरापमा परेको अनुमान गरेको बेला भएको एमसीसीको यो भर्चुअल छलफललाई अर्थपूर्णरुपमा लिइएको छ ।
‘फेव्रुअरी २८ नै अन्तिम मिति हुने र संसोधन नहुने स्पष्ट सन्देश उपाध्यक्ष सुमारले दिनुभएको छ’ अमेरिकी दूतावास स्रोतले नेपाल प्रेससँग भन्यो, ‘दूतावास र एमसीए स्रोतमार्फत मुख्यालयले यस्तो सन्देश दिएको हो ।’
छलफलमा उपाध्यक्ष सुमारले एमसीसीलाई पठाइएको पत्र र आफ्नै प्रतिबद्धताको सम्मान नेपाली नेताहरुले गर्ने विश्वास पनि लिएकी थिइन् । सत्तारुढ गठबन्धनका दुई दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संसोधनबिना सम्झौता पास हुन नसक्ने अडान राखिरहेको बेला अमेरिकी अडानले परिस्थिती थप पेचिलो बन्ने संकेत देखिएको छ ।
अमेरिकाले दिएको समयावधी घर्किँदै जाँदा पनि नेपाली दलहरुमा सम्झौताालई लिएर मतैक्य हुन सकेको छैन । यस्तो बेलामा राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन कूटनीतिक सक्रियतालाई तीव्र तुल्याएका छन् । मंगलबार बेलुकामात्र उनले बालकोट पुगेर संसद अवरोध गर्दै आइरहेको मुख्य प्रतीपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
विहिबार बिहान मात्रै ट्वीटमार्फत राजदूत बेरीले सम्झौतालाई लिएर नेपाली मिडिया र सामाजिक संजालका हल्लाप्रति असन्तुष्टि जनाएका छन् ।