पुष्पराज खतिवडा
बारा
४ फागुन २०७८
नेकपा माओवादीको मधेश प्रदेश कमिटीका सदस्य एवं निजगढका प्रभावशाली यूवा नेता रविराज दंगालले निजगढ नगपालिका मेयरलाई गठबन्धनको मर्म विपरीतको रोईलो गरेको आरोप लगाएका छन् ।

बुधबार विहान सामाजिक संजाल मार्फत दंगालले मेयर खनाललाई चेतावनी यूक्त प्रश्नै प्रश्न गरेर रोईलो गरेको आरोप लगाएका हुन् । मंगलबार पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत संघिय सरकारका मन्त्रीहरुको उपस्थिति निजगढ नगरको एक अनौपचारिक कार्यक्रममा गरेको दुखेसो प्रति कटाक्ष गरेका छन् ।

निजगढ नगरका प्रमुख सुरेश कुमार खनालले निजगढलाई प्रदेश र संघिय सरकारले आवश्यक बजेट र विकास निर्माणमा सहयोग नगरेको भनी सो अनौपचारिक कार्यक्रमा दुखेसो गरेका थिए । सोकुरालाई दंगालले रोदन र आफ्नो कमजोरीको ढाकछोप गर्ने काम गरेको भनेका छन् । उनले लेखेका छन् “हेल्लो मेयर साब तपाई हिजो स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संगको गठबन्धनबाट निर्वाचित भएको कति छिटो भुल्नु भयो ?

निर्वाचित भैसकेपछी कति पटक माओवादीसँग सहकार्य र समन्वय गर्नु भयो ?”
उनले ५ बर्ष अघि नेकपा माओवादीसँगको सहकार्य र सहयोगमा चुनाव जितेपछि स्थानिय तहमा माओवादीको प्रतिनिधित्व नभएपनी संघिय सरकारमा माओवादी केन्द्रको हुँदा कहिले र कुन मितिमा निजगढको बृहत्तर विकास र हितको योजनाका लागि छलफल गर्नु भयो ? संघीय सरकारको मन्त्रालय जान माओवादी केन्द्रसंग समन्वय गर्नु भयो ? भनेर प्रश्न गरेका छन् ।

निजगढमा माओवादी केन्द्रलाई पुरै अवमूल्यन गर्ने र चोर दुलोबाट माओवादी केन्द्रका मन्त्रालय र मन्त्री भेट्न अन्य ठाउँको शक्ति केन्द्रसँग अनुनयविनय गर्ने तपाईको एकाङ्गी, दम्भ र अहंकारवादी सोच हामिले बुझी सक्यौ दंगालले फेसबुकमा लेखेका छन् ।
हाम्रै पहलमा भएका योजना कार्यान्वयनमा कहिले समन्वय गर्नु भयो ? संघमा हाम्रो गठबन्धनको सरकार छ ,सबै मन्त्री चिनेकै छन् तर माओवादीलाई पेल्दा आनन्दको अनुभुती ठान्ने तपाईलाई अब निर्वाचनको मुखमाचैं किन चाहियो विकास, धिक्कार छ भन्दै मेयर खनाललाई प्रश्नै प्रश्नसँगै धिक्कारेका छन् ।

उनले अघि लेखेका छन् , कर्मचारी भर्ती र समय पुगेका कर्मचारीको सरुवा रोक्न काठमाडौंको मन्त्रालय र नेताको घरघर धाउनुको सट्टा निजगढको दीर्घकालीन विकासको लागि खोई सर्वदलीय संयन्त्र भन्दै अर्को प्रश्न गरेका छन् ।

माओवादीले भनेका योजनामा खनालले ब्यवास्था गरेको भन्दै दंगालले “माओवादीले भनेका कुन योजना तपाईले कार्यान्वयन गर्नु भयो ? उपभोक्ता समितिको नाममा आफ्नै पार्टी भित्रपनी आफ्नै गुटगत स्वार्थ बोकेकालाई मात्र योजना दिने सबैले देखेकै छन् । ”
नगरबाट कमसल काम भएको दंगालले आरोप समेत लगाएका छन् । “यस अवधिमा बनेका स्ल्याप, ढलान र पक्की संरचना ४ वर्षमै कति फुटे, चर्किए र काम नलाग्ने भए लेखाजोखा भएको छ ?”

जति रोईलो गरेपनी तपाईका मात्र मन्त्री सरकारमा छैनन् । त्यहाँ हाम्रा कुरा सुन्ने पनि छन् हेक्का होस् भन्दै दंगालले मेयरलाई चेतावनी दिएका छन् । यथार्थमा आधारीत भन्दै लेखिएको स्टाटसमा दंगालले मेयर खनाललाई सेटिङ्गमा मात्र रमाउने तर छलफलमा दम्भ देखाउँदाको परिणाम राम्रो नहुने उल्लेख गरेका छन् ।

उनले अन्तमा लेखेका छन् “अनि अलिकती घिना लाग्दैन सहजै हामिलाई संघले हेरेन भन्न ? जे जति योजना आए हिजो स्थानिय तहको निर्वाचन अगाडिका योजना मात्र कार्यान्वयन छन । स्मार्ट सिटि अन्तर्गत सडक निर्माण पुरानै योजना हो । आज त्यही बाटो देखाउदै अलिअलि भएपनी लाज छोप्ने काम भएको छ । अब बेला घर्किसक्यो समयमा ध्यान छैन । अब ज्यान देखाएर मात्र केही फाईदा छैन । ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय