बारा २७ फागुन
नेपाल कम्युनिष्ट पार्टी एमाले जितपुरसिमरा उपमहानगर कमिटीको प्रथम अधिवेशन आगामी चैत्र १२ गते सिमरामा हुने भएको छ ।
उपमहानगर संगठन कमिटीको गत बुधबार सिमरामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अधिवेशनमा प्रत्येक वडाबाट २ सय संगठित सदस्य बराबर १० जना प्रतिनिधि चयन गर्ने,२५० सदस्य भए १२ जना,३ सय सदस्य सम्म भएमा थप २ जना गरि १४ जना र ३ सय भन्दा बढी संगठित सदस्य भएमा १५ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले उद्योग प्रतिष्ठानबाट एक महिला सहित ३ जना र नगर स्तरका जनसङ्गठनहरुबाट एक महिला सहित ३ जना प्रतिनिधि संगठित सदस्य सहभागी गराउने निर्णय गरेको एमाले नेता मनोज पौडेलले जानकारी दिए ।
त्यसैगरि प्रत्येक वडाबाट एकजना दलित प्रतिनिधि संगठित सदस्यहरु मध्येबाट छनोट गर्ने र अधिबेशनमा सहभागी गराउने निर्णय भएको उनले बताए ।
बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज पुरुषोत्तम पौडेल, पोलिट्व्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज अच्युत मैनाली, पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज ज्वाला साह, केन्द्रिय सदस्य सरस्वती चौधरी, एमाले जिल्ला अध्यक्ष विनोद साह, जिल्ला कमिटी सदस्य भोला अधिकारी,कासिम हुसेन लगायत नेताहरुको सहभागिता रहेको थियो ।