नेपाली काँग्रेस बाराको जिल्ला सभापतिमा कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका राजेश राय यादवको जित प्राय सुनिश्चित भएको छ । शनिवार हुने दोस्रो चरणको मतदानमा शेखर कोइराला र कृष्ण सिटौला पक्षले राजेश राय यादवलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका तीन प्रतिस्पर्धी मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणको मतदान हुँदैछ।
शनिवार हुने दोस्रो चरणको मतदानमा सभापतिका लागि यादव र शम्भुबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा हुँदैछ। यी दुवै जना संस्थापन पक्षकै उम्मेदवार हुन्।
यसअघि गत बुधबार भएको निर्वाचनमा सभापतिमा राजेशरायले ८३३, शम्भुले ८०९ तथा कोइराला र सिटौला पक्षका उम्मेदवार रामानन्दले भने ७०८ मत मात्रै पाएका थिए।
पहिलो चरणको मतदानमा तेस्रो स्थानको मत पाएर दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका रामानन्द र उनको पक्षमा रहेका नेताहरुले शनिवार हुने मतदानमा राजेशरायलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
शुक्रबार राती सवा ९ बजे कलैयास्थित एक होटलमा पत्रकार सम्मेलन गरेर रामानन्दले दोस्रो चरणको मतदानमा आफ्नो र आफ्नो समूहको समर्थन राजेशरायलाई रहने बताए।
उनले भने, ‘पहिलो चरणको मतदानमा पहिलो स्थानको मत राजेशरायले पाउनुभयो, आगामी दिनमा सहमति र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउने सहमति उहाँसग भएको छ, त्यसैले मेरो र मेरो टिमको समर्थन उहाँलाई रहन्छ, उहाँलाई मत दिएर विजयी गराउन सबै नेता कार्यकर्तालाई आह्वान पनि गर्छु।’
पत्रकार सम्मेलनमा संघीय सरकारका खानेपानी तथा सरसफाइमन्त्री समेत रहेका नेपाली काँग्रेसका सहमहामन्त्री एवं कृष्ण सिटौला पक्षका नेता उमाकान्त चौधरी, केन्द्रीय सदस्य रमेश रिजाल, जिल्ला सभापतिका उम्मेदवार राजेशरायलगायतको पनि उपस्थिति रहेको थियो।
दोस्रो चरणको प्रतिस्पर्धामा रहेका संस्थापनक पक्षकै सभापतिका अर्का प्रत्याशी शम्भुबहादुर बुढाथोकीलाई भने कांग्रेसकै अर्का सहमहामन्त्री एवं पूर्वमन्त्री फरमुल्लाह मन्सुरको समर्थन रहेको छ।
सभापति पदका लागि दोस्रो चरणको मतदान कलैयास्थित श्री ३ चन्द्र मावि परिसरमा शनिबार बिहान १० बजेदेखि शुरु हुने प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए।
मतदानमा बाराको चारवटै निर्वाचन क्षेत्रबाट गरी २ हजार ४ सय ९३ जना मतदाता सहभागी हुने कांग्रेस बाराका महाधिवेशन प्रतिनिधि सुनिल गाँउलेले जानकारी दिए।