बारा
४ चैत्र २०७८
पेट्रोल ट्यांकरमा आगोलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज स्थित आयल निगम भित्र रोकिराखेको ट्यांकरमा भएको आगलागीमा परि सोही ट्यांकरका सह–चालक स्थानिय ३० बर्षका लक्ष्मण श्रेष्ठको ज्यान गएको हो ।
उपचारका क्रममा उनको सुक्रबार विहान ८ बजे काठमाडौंमा मृत्यु भएको हो । पेट्रोल अनोलड गर्न पार्किंङ गरि राखेको ना.४ ख.२६५६ न.को पेट्रोल ट्यांकर आगलागी भएको प्रहरीले जनाएको छ ।
ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगोलागी भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । शरीरमा जलेको गम्भीर अवस्थामा श्रेष्ठको उद्दार गरी अल्पाइन अस्पताल सिमरामा प्राथमिक उपचार गरिएको थियो ।
अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विहिबार नैं श्रेष्ठलाई कीर्तिपुर अस्पताल काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनको सुक्रबार विहान ८ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।
विहिबार साँझ ४ः४० मा लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानिय र आयल निगमको दमकलको सहायतामा ५ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ट्यांकरको अगाडिको क्याबिनको भाग क्षति भएको छ ।
ट्यांकरमा लागेको आगो निभाउने क्रममा भारत गोरखपुर घरभइ आयल निगममा इलेक्ट्रीसियनको काम गर्ने अन्दाजी २५ बर्षका रामलखन प्रजापति समेत सामान्य घाइते भएका थिए ।
उनको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।