पुष्पराज खतिवडा
बारा : स्थानिय तह निर्वाचनमा सहभागि हुने दलहरुका तर्फबाट जिल्लामा अत्याधिक उमेदवारी परेको छ । निर्वाचन आयोगको कार्यालय बाराले दिएको जानकारी अनुसार गए राती साँढे ९ बजे सम्ममा सबै पदमा गरि ३ हजार ९५१ जनाको नाम कम्प्युटर सिस्टममा अध्यावधिक भएको छ । सोका आधारमा १६ वटा पालिका प्रमुखका लागि मात्रै १९४ जनाले उमेदवारी दर्ता गरेका छन् ।
त्यस्तै उपप्रमुखमा ११९ जनाले, वडा अध्यक्षमा ९०४, सदस्यमा १ हजार ४३५, महिला सदस्यमा ६४६ र दलित महिला सदस्य पदमा ६५३ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए । यो संख्या अझै बढ्ने देखिएको छ ,उनले भने ।
राती साँढे नौ बज्दा विश्रामपुर गाउँपालिका बाहेकका पालिकाहरुमा मनोनयन दर्ताको काम सम्पन्न हुन सकेको थिएन । सो पालिकामा मात्रै अध्यक्ष पदमा १७ जनाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा ७ जनाको उमेदवारी दर्ता भएको जनाईएको छ । विश्रामपुर बाहेकका पालिकाहरुमा रातको १२ बजे सम्म उमेदवारी दर्ता भएकाले अध्यावधिक गर्ने काम मंगलबार भैरहेको निर्वाचन अधिकृत चौधरीले बताए ।
उनका अनुसार हाल सम्म पालिका प्रमुखमा सबै भन्दा बढी पचरौता नगरपालिकामा २० जनाको उमेदवारी परेको छ । सो पालिकामा १३ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् । यस्तै ७ वटा दलहरुबाट समेत प्रमुख पदमा उमेदवारी परेको उनले बताए ।यस्तै सबै भन्दा कम बारागढी गाउँपालिका र महागढिमाई नगरपालिका प्रमुख पदमा ७।७ जनाको उमेदवारी परेको निर्वाचन अधिकृत चौधरीले बताए ।
पाँच दलिय गठबन्धनले जिल्लाको कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख उपप्रमसख बाहेकमा ब्यवस्थापन गर्न सकेको देखिएन । कलैयामा काँग्रेसका सभापती एवं निर्वतमान मेयर राजेश रायले मेयरमा र जनता समाजवादी पाटीका तर्फबाट संविधानसभा सदस्य प्रमोद गुप्ताले उपमेयरमा उमेदवारी दर्ता गराए । भने वडाहरुमा त्यस प्रकारको गठबन्धन हुन सकेन । सबै वडामा सत्तापक्षीय गठबन्धनमा आवद्ध सबैदलले आआफ्नै उमेदवारको नाम दर्ता गराएका छन् ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका नेता राजन पौडेलले मेयरमा उमेदवारी दर्ता गराएका छन् । भने उपमेयरमा नेपाली काँग्रेसकी मेघा शाहीको उमेदवारी परेको छ । यस पालिकामा समेत प्रमुख उपप्रमुख मात्रै गठबन्धन भएको हो । वडाहरुमा आन्तरिक ब्यवस्थापन गर्न नसक्दा काँग्रेस, जसपा र राजमो पार्टीले माओवादीलाई सहयोग नगर्ने भन्दै संयूक्त विज्ञप्ती नै जारी गरेका छन् ।
त्यसै गरी प्रतिपक्षी एमालेका तर्फबाट कलैयामा जिल्ला अध्यक्ष विनोद साहले मेयर र उपमेयरमा रौशन प्रविनको उमेदवारी परेको छ । यस्तै जीतपुरसिमरामा पूर्व उपमेयर सरस्वती चौधरीले मेयर र पार्टी नगरकमीटि अध्यक्ष भोला अधिकारीले उपमेयरमा उमेदवारी दिएका छन् ।
जिल्लाका २ उपमहानगर, ५नगर र ९ गाउँ गरी १६ वटै पालिका अधिकाँसमा बाघी उमेदवार खडा भएका छन् । १६७ वट वडा भएका १६ पालिकामा कुनैपनि वडाबाट एकजना पनि निर्विरोध हुन सकेका छैनन् । पालिकाहरुमा आफ्ना उमेदवार खडा गरेर चुनावी मैदानमा होमिने पुराना र नयाँ गरी ११ वटा पार्टी छन् ।
ती पार्टीहरुमा नेकपा एमाले, नेपाली काँग्रेस , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रीक समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी),राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सुशासन पार्टी, जनमत पार्टी ,नेपाल सद्भावना पार्टी ,सामाजिक एकता पार्टी र राष्ट्रिय जनमोर्चाले बारामा उमेदवारी दिएका छन् । मुख्य दल बाहेकका साना र नयाँ दलले एकाद पालिकामा मात्रै उमेदवारी दिको पाइएको जिल्ला निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।