पुष्पराज खतिवडा
चुनावी प्रचारका क्रममा हुने उत्तेजक गतीविधि रोक्न बेलुकी ८ बजेपछी पार्टी कार्यकर्तालाई अर्कोगाउँ प्रवेशमा रोक लगाउने सर्वदलिय बैठकमा सहमति भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१८ बाट विभिन्न ५ दलको प्रतिनिधित्व गर्दै वडा अध्यक्षमा उमेदवारी दिएका प्रतिनीधिहरुले वडामा हुने चुनावी प्रचारलाई ब्यवस्थीत गर्ने सहमती गरेका हुन् ।
मंगलबार लामिडाँडामा बसेको सर्वदलिय प्रतिनीधिहरुको बैठकले निर्वाचन आयोगले तोकेको समय विहान ५ बजेबाट बेलुकी ८ बजे सम्म मात्रै चुनावी प्रचार गर्ने निर्णय गरेका छन् । बैठकले समय निर्धारणसँगै प्रचारप्रसारका नाममा रातको समयमा हुलदंगा गर्ने ब्यक्तिहरुलाई कार्वाही गर्ने सम्मको निर्णय गरेको छ ।
बेलुकी ८ बजेपछी कुनै पार्टी कार्यकर्ताहरुले प्रचार प्रसारका नाममा हुलदंगा गर्न नपाईने उल्लेख छ । निर्णयको खिलाफ जाने जोकोही ब्यक्ति स्वयं कार्वाहीको भागिदार हुनेछन् ।
आजैकै मितिबाट चुनाव नसकिँदा सम्म एक गाउँटोलका ब्यक्तिहरु बेलुकी ८ बजेपछि अर्को गाउँटोलमा प्रचारमा नजाने सर्वदलिय बैठकमा निर्णय भएको एमाले वडा अध्यक्ष उमेदवार बसन्त खतिवडाले बताए । चुनावलाई सभ्य, धाँधली रहित र मर्यादित ढंगबाट उत्साहजन रुपमा सम्पन्न गर्नु सबै नागरिकको अधिकार र कर्तब्य हो उनले भने ।
त्यसतै एकआपसमा मनमुटाव ,बैरभाव उत्पन्न हुने उत्तेजक गतीविधि गर्न रोक लगाईएको काँग्रेसका उमदवार चतुरवाबु वाग्लेले बताए । उनले भने ,निर्धारित समय भन्दा अघि वा पछि चुनावी प्रचार प्रसारमा ननिस्कने निर्णय गरेका छौं ।
नेकपा एमालेका खतिवडा , नेपाली काँग्रेस चतुरबाबु वाग्ले, नेकपा माओवादी केन्द्र शिव ढुङ्गाना, जसपाका सिताराम प्रसाद यादव र नेकपा समाजवादीका चन्द्र बहादुर बलको बैठकमा सहभागि थिए ।