बारा
१५ बैशाष २०७९
पत्रकार हरिदेव खरेल समेत ३० गते हुने स्थानिय तह निर्वाचनका लागि चुनावी मैदानमा छन् । नेकपा एमालेकोे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को अध्यक्ष पदका लागि उनले उमेदवारी दिएका छन् ।
जिल्लामा लामो समयदेखी पत्रकारीता गरिरहेका खरेल पत्रकारीता र शिक्षा क्षेत्रमा काम गर्दै आईरहेका छन् । उनी हाल मतदाताका बिचमा मत माग्न ब्यस्त छन् । खरेलले आफुले पदमा नहूँदा पनि लामो समयदेखी सामाजिक क्षेत्रमा काम गरेकाले मतदाताको साथ आफुलाई रहने बताए ।
वडाको विकास गर्ने प्रतिवद्धता पत्र सहित विभिन्न योजनामा काम गर्ने लक्ष्य बनाएर आफु चुनावी मैदान भएको उनले बताए । खानेपानी, स्वास्थ्य ,शिक्षा, सिंचाई लगायतका क्षेत्रमा उल्लेखिय रुपमा काम गर्ने संकल्प बोकेको छु ।
वडाको भित्रको टाँगिया बस्तीको समस्या समाधन गर्न विशेष पहल गर्दै यहाँका बासिन्दाका लागि न्युनतम आवश्यक सुविधाका लागि काम गर्ने आफ्नो मुख्य योजना भएको उनले बताए ।
यस्तै सुकुम्बासी समस्या, कृषिक्षेत्रको विकास , विधुतिकरण लगायतका समस्या समाधानका लागि आफुले चुनाव जित्नै पर्ने उनको भनाई थियो । आफ्नो वडामा प्राविधिक शिक्षालयको स्थापना गर्ने लक्ष्य समेत आफुले बनाएको उनले बताए ।
हिजो जनप्रतिनीधि नहुँदा होस् वा भएरपनि जनताका पक्षमा काम नगर्दा मैले पत्रकारीका माध्यमबाट स्थानिय जनताको सहयोगमा निरन्तर काम गरें । पत्रकारीताका क्रममा कमाएको चिनजान, विभिन्न निकायका ब्यक्तिहरुसँगको सम्बन्ध, कानुनी एवं प्रशासनिक ज्ञान मसँग छ ।
जनताका समस्यालाई समाधान गर्ने दक्षता समेत आफुसँग भएकाले जनताले दिने जिम्मेवारी जनताकै हितमा खर्चने क्षमता राख्ने भएकाले मतदाताको रोजाईमा छु, उनले सुनाए ।