२ बैशाष २०७९
सिमरा :
जीतपुरसिमरा उपमहानगरपालिकामा माओवादीले खाता खोल्दा एमालेले ६ वटामा जितको छ । एमालेले उपमहानगरपालिकाको वडा नं.२३, २, ३, ६, २१ र २० मा एमालेका वडाध्यक्ष उमेदवारले बाजी मारेका हुन् । भने वडा नं.४मा नेकपा माओवादी केन्द्रका भोजबहादुर खत्री (ईश्वर)ले खाता खोलेका हुन् ।

सिमरामा जारी मतगणनाको परिमाण अनुसार गठबन्धनका मेयर उमेदवार राजन पौडेल र उपमेयरकी उमेदवार मेघा साहीको वडामा समेत एमालेका उमेदवार प्यानल सहित विजयी भएका छन् ।

वडा नम्बर ४ मा माओवादि केन्द्रका भोजबहादुर खत्री (ईश्वर)ले खाता खोल्दा दोस्रो पटक उनी निर्वाचित भएको हुन् । खत्री २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचत भएका थिए ।

खत्रीले ९२४ मत प्राप्तगरी विजय भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भागवत चौधरीलाई ३ सय ६१ मत अन्तरले पराजीत समेत गरेका छन् ।

यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारी ७० मत अन्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका फैज अंसारीले ३६७ मत पाए भने निर्वाचित एमालेका अंसारीले ४४० मत प्राप्त गरेका हुन् ।
अंसारी पनि दोस्रो पटक निर्वाचित भएका हुन् । उनले २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थियो । यसपटक पनि उनी आफ्नो प्यानल सहित निर्वाचित भएका छन् ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका धनबहादुर श्रेष्ठले विजयी भएका छन् । अघिल्लो निर्वाचन वडा सदस्यमा विजयी भएका श्रेष्ठले यस पटक प्रतिद्धन्द्धीलाई ८ सय ९० मतले पछि पार्द वडा अध्यक्ष पदमा जीतेका छन् ।

श्रेष्ठले १६४४ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी तिलकबहादुर श्रेष्ठले ७५४ मत मात्रै पाएका छन् । तिलक अघिल्लो निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए ।

हाल वडा अध्यक्षमा निर्वाचित श्रेष्ठले पाएको मतान्तर यस उपमहानगरपालिकामै अन्य उमदवारले पाएको मतभन्दा अधिक भएको छ । श्रेष्ठ आफ्नो प्यानल सहित बिजयी भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ नेकपा एमालेका शुभाष श्रेष्ठले विजयी भएका छन् । शिक्षण पेशा छाडेर राजनितिकमा आएका श्रेष्ठले आफ्नो निकटतम् प्रतिद्धन्द्धीलाई १ सय १३ मतान्तरले पराजय गर्न सफल भएका छन् ।

श्रेष्ठले ४०३ मत पाएर विजयी भएका हुन् । श्रेष्ठ प्यानल सहित बिजयी भएका हुन् । यो वडा साझा गठबन्धनबाट उपमेयरकी उमेदवार कांग्रेसकी मेघा शाहीको समेत वडा हो ।

यसै वडा नम्बर ३ नेकपा एमालेका ताराबहादुर कार्की विजयी भएका छन् । सो वडा गठबन्धनका मेयर उमेदवार राजन पौडेलको समेत वडामा पर्दछ । उनै पौडेलको पार्टि नेकपा माओवादी केन्द्रका जगन्नाथ घिमिरेले यसअघि वडा अध्यक्ष जितेका थिए ।

कार्कीले कांग्रेसका वडा अध्यक्ष उमेदवार दिनेश सुवेदिलाई ५२ भोटले प्यानलकै जीत निकाल्न सफल भएका हुन् । कार्कीले ६ सय ४५ मत पाउँदा प्रतिद्धन्द्धी सुवेदीले ५ सय ९३ मत मात्रै पाएका छन् ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा नेकपा एमालेका मुस्तकीम अंसारी निर्वाचित भएका छन् । ७ सय ८२ मत ल्याएर अंसारी निर्वाचित भएका हुन् ।

१३९० मतदान भएको यस वडामा अंसारीले आफ्नो निकटतम प्रतिद्धवन्दिलाई २ सय ९३ मत अन्तरले पराजीत गरेका छन् ।
अंसारीले यस वडामा आफ्नो पुरै प्यानल सहित जीत दिलाएका छन् । उनका प्रतिद्धवन्दिले ४ सय ८२ मत पाएका छन् ।

सोही पालिका वडा नं.२० मा नेकपा एमालेका उम्मेदवार रसुल मिया अंसारीको प्यानल विजयी भएको छ ।
नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका मियाँले ५९० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ईनरदेव राउत अहिले ४९० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश चौधरीले ४७५ मत प्राप्त गरेका छन् ।

अंसारीले एक सय मतान्तरको जित निकाल्दै दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा अंसारी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय