बारा
सदरमुकाम समेत रहेको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन परविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।
वडा नम्बर १० का वडाध्यक्ष मोहमद साबिरले समेत यस्तो सम्मान पाए । नवनिर्वाचित मेयर साहको शरिरको तौल ५५ केजी, उपमेयर परविनको ७० केजी र वडाअध्यक्ष साविरको ७० केजी रहेको एमाले यूवा संघ बाराका अध्यक्ष पुरुषोत्तम् साहले बताए ।
चुनाव जितेपछि विजयी ¥यालीका क्रममा शनिबार वडा नम्बर १० निलकण्ठवामा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले जराजुमा उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।
जनप्रतिनिधिलाई उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । सो लड्डु उपस्थित समर्थकलाई बाँडिएको थियो ।
लड्डुे स्वागत गर्ने ठकुराईले आफू कुनैपनि दलमा नरहेको बताए ।
उनले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गरुन् भन्ने विश्वासमा लड्डु बाँडेको बताए ।
स्वागतपछि नवनिर्वाचित मेयर साहले नागरिकको यस प्रकारको माया र विश्वासलाई कहिल्यै टुट्न नदिने बताए । उनले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउन ५ वर्ष अघिबाटै गोप्य गृहकार्य गरिरहेको र सोको सफल कार्यान्वयनको समय आएको बताए ।
मेयर साहले २४ हजार १३९ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत पाए ।
उपमेयरमा परविन १९ हजार २५१ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्दी गठबन्धनमा आवद्ध दल जसपाका प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाएका थिए ।