बारा
जिल्लामा मत परिणाम सार्वजनिक हुन बाँकी ४ मध्यका तीनवटा पालिकाको अन्तीम नतिजा सार्वजनिक भएको छ । जिल्लाको महागढिमाई, आर्दश कोतवाल र बारागढी गाउँपालिकाको नतजा सार्वजनिक भएको हो ।
महागढिमाई नगरपालिकामा नेपाली काँग्रेसले चुनाव जितेको छ । काँग्रेसका पूर्व प्रमुख उपेन्द्र प्रसाद यादव पुनः मेयरमा विजयी भएका हुन् । यस्तै उपमेयरमा काँग्रेसकै तारा देवी कानु विजयी भएकी छन् ।
मेयरमा निर्वाचित यादवले ८६७० मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामबाबु प्रसाद यादवले ७३७६ मत पाए । यसैगरी उपमेयरमा निर्वाचित तारादेवीले ७९९७ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पुष्पाञ्जली देवी ७०१० पाएर पराजीत भएकी हुन् ।
यस्तै काँग्रेसले आदर्श कातवाल गाउँपालिकामा समेत चुनाव जितेको छ । पालिका अध्यक्षमा काँग्रेसका जवाहर प्रसाद र उपाध्यक्षमा काँग्रेसकै मिरा देवी निर्वाचित भएका हुन् ।
जवाहरले ४०८७ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका मुस्तुफा अंसारीले २८३७ मत मात्रै पाए । अंसारी तत्कालिन राजपा नेपालबाट २०७४ मा गाउँपालिका निर्वाचित निर्वतमान अध्यक्ष समेत हुन् ।
उनी गत चैत्र २६ गते एमाले अध्यक्ष ओलीको उपस्थीतमा नेकपा एमाले प्रवेश गरेका थिए ।
यस्तै पालिकाको उपाध्यक्षमा काँगे्रसकै मीरा देवीले ३३७५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी बास मती देवी यादवले २६२६ मत मात्रै प्राप्त गरेकी छन् ।
यसैगरी बारागढी गाउँपालिकामा लोकतान्त्रीक समाजवादी पार्टी नेपालले चुनाव जितेको छ । पालिका अध्यक्षमा अशोक कुमार जयसवाल र उपाध्यक्षमा लक्ष्मी देवी राय निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित जयसवालले ५४२६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका वृजकिशोर प्रसादले ३०४२ मत मात्रै पाए ।
यस्तै उपाध्यक्षमा निर्वाचित लक्ष्मी देवीले ४३६६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कलाउती थरुनीले ३६२१ मत मात्रै प्राप्त गरी पराजय भएकी छन् ।
बाराका १६ पालिकामा १५ वटाको नतिजा आई सकेको छ । बाँकी रहेको पचरौता नगरपालिकाको आईतबार राती सम्म नतिजा आई सक्ने निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।
सो पालिकामा लोसपाले अग्रता लिएको छ ।