भैरहवा: परासी-भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।
आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे ।
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् ।
यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।
बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।
दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।
घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।