पुष्पराज खतिवडा
२७ जेष्ठ ०७९
बारा
जिल्लाको जितपुरसिमरा उपाहानगरपालिका क्षेत्रमा पर्ने दुधौरा,बालगंगा र पसाह खोलाको चरम दोहन भएको पाईएको छ । जितपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको उक्त खोलाहरुमा नियम विपरित उत्खनन् भएको हो । सुक्रबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहित शुरक्षा प्रमुखहरुको टोलीले खोलाको अनुगमन गरेको छ । सोक्रममा ती खोलाहरुमा मापदण्ड विपरित बालुवा गिट्टी उत्खन भएको पाईएको हो ।

वातावरणिय प्रभाव मुल्याकन प्रतिवेदनमा खोलाको विच भागबाट बढिमा ३ फिट सम्म उत्खन गर्न सक्ने उल्लेख छ । तर ठेकेदार कम्पनीले स्काभेटर नै प्रयोग गरी ३० फिट सम्म गहिरो बनाएर बालुवागिट्टी उत्खनन् गरिरहेको पाईइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । “यस विषयलाई हामीले गम्भीर ढंगले लिएका छौं । जिल्ला समन्वय समितिमा मार्फत सम्बन्धीत पालिकालाई यस विषयको ध्यानाकर्षण गराउनेछौं,” उनले भने ।

खोलाहरुमा भैरहेको दोहनप्रति वडा नं. १६का अध्यक्ष हरिदेव खरेलले निर्वाचित भएको जेष्ठ पहिलो साताबाटै चासो राख्दै आएका थिए । उनको पटकपटकको चासो र आग्रहपछि शुरक्षा प्रमुखहरुको टोलीले खोलाको निरिक्षण गरेको हो । खरेलले खोलामा अबैध ढंगबाट मनपरि उत्खन भैरहेको बताए । जितपुरसिमरा उपमहानगरपालिकाले अनुगमनमा बेवास्था गरेकै कारण ठेकेदार कम्पनीहरुले मनपरि गर्ने मौका पाएको उनको भनाई थियो ।

खोलाको चौडाई मध्ये बीचबाट एक तिहाई मात्र उत्खनन् गर्न डिमार्केशन भएको भएपनि उपमहानगरले अनुगमन नगर्दा ठेकेदारले मनपरि गर्दै आएका थिए । बातावणीय प्रभाव मुल्याङ्कन गर्दा नै डिमार्केशन गर्न गाडेका पिल्लर समेत उखलेर खोलाको दायाँवायाँ समेत मापदण्ड विपरित उत्खनन् गरिएको उनको भनाई छ ।

आफुले पदमा नहुँदा पनि अवैध गतिविधिको विरोध गर्दै आएको र नियम विपरित उत्खनन् नगर्न पटकपटक निर्देशन दिए पनि ठेकेदार पक्षले नमानेको वडा अध्यक्ष खरेलले बताए ।

अघिल्ला वर्षहरुमा १२ करोड भन्दा बढिमा ठेक्का लागेको दुधौरा, बालगंगा र पसाहा खोला यस वर्ष ४ करोड ८१ लाख रुपैंमा ठेकेदारले उत्खनन् गर्ने ठेक्का पाएका थिए । पाँच महिना ढिला गरी ठेक्का लगाएको नगरले दर र परिणाम घटाएर ठेक्का लगाएको पाईएको थियो । अघिल्लो वर्ष ८ रुपैया १३ पैसा प्रति सेप्टीमा ठेक्का लगाएको नगरले यस वर्ष ६ रुपैयाँ प्रति सेप्टीमा ठेक्का लगाएको थियो ।

अघिल्लो वर्ष ९६ लाख घनमिटर खोलाजन्य पदार्थ निकाल्न ठेक्का लगाएको नगरले यस वर्ष ६९ खाल घनमिटर मात्र निकाल्ने गरी सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।

तर सिमराका नारायण घिमिरेको नाममा दर्ता भएको सन्देश सप्लायर्स प्राईभेट कम्पनीले तोकिएको परिमाण भन्दा १० औं गुणबढी खोलाजन्य पदार्थ निकालेर मापदण्ड विपरित बिक्रि वितरण र सडकमै भण्डारण समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय