काठमाडौं : विभिन्न व्यक्तिको नाममा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्दै ठगी गरेको आरोपमा काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ३७ वर्षीय रविप्रसाद रेग्मीले बनेपा नगरपालिका- १ स्थित चाइना टाउन बास्केटबल कोर्ट अगाडि ६ जना व्यक्तिको नाममा रहेको जग्गा आफ्नो जस्तो बनाएर बिक्री गरेको र एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको दाबी प्रहरीको छ ।
प्रहरीका अनुसार रेग्मीले राजीनामा कागज, घर बाटोको सिफारिस, जग्गाधनी प्रमाणपत्र आफ्नो नामको नक्कली बनाएर बिक्री गरेका थिए । ग्राहकले पाउने जग्गाधनी पुर्जासमेत नक्कली बनाइएको काभ्रे प्रहरी प्रवक्ता हरि खतिवडाले जानकारी दिए ।
प्रहरीले रेग्मीको साथबाट जग्गाको नक्कली धनी पुर्जासहित विभिन्न कागजात पनि बरामद गरेको छ । पक्राउ परेका अन्य दुई जनामा लेखापढी व्यवसाय गर्ने बनेपाकै ४५ वर्षीय राजन थापा र उनकी श्रीमती सीताकुमारी थापा रहेका छन् ।
मुख्य अभियुक्त रवि यसअघि पनि दुई पटक ठगी मुद्दामा मुछिएका थिए ।