पुष्पराज खतिवडा
१४ भाद्र, बारा :जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बाराका दुई क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएको छ । २०७४ को निर्वाचनमा सप्तरी क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई बारा क्षेत्र नं. २ र ३ बाट सिफारिस गरिएको हो ।

जसपा बाराको क्षेत्र नम्बर ३ क्षेत्रिय कमिटिले आईतबार र क्षेत्र नम्बर २ कमिटीले सोमबार यादवको नाम पहिलो नम्बरमा राखी सिफारिस गरेको हो ।

जसपाको ३ नं.क्षेत्रीय कमिटीले यादवसँगै प्रतिनधिसभा सदस्य रामबाबु कुमार यादव , संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेश कमिटी सदस्य शुशिल यादव, मनिस यादव, सचितानन्द यादव, शंकर यादव र सुनिल दासको नाम सिफारिस गरेको जसपा बाराले जनाएको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेका अध्यान्द पाण्डेलाई पछि पार्दै तत्कालीन संघीय समाजवादी फोरमबाट २१ हजार ३३६ मत ल्याएर रामबाबु कुमार यादव विजयी भएका थिए ।

यस्तै क्षेत्र नं.२ ले जसपा अध्यक्ष यादवसँगै प्रतिनधिसभा सदस्य रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि सिफारिस गरेको हो । रामसहाय २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका राधेचन्द्र यादवलाई १२ हजार ३९५ मतले पराजित गर्दै तत्कालीन संघीय समाजवादी फोरमबाट २८ हजार १८५ मत ल्याएर विजयी भएका थिए ।

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरेसँगै अध्यक्ष यादवले शुरक्षीत स्थानका रुपमा बारा आउन चाहेको बुझिएको छ । यी दुबै स्थानबाट २०७४को प्रतिनिधीसभा निर्वाचनमा जसपाले जित हात पारेको थियो ।

०७४ र अहिले राजनैतिक परिस्थीती फेरिएकाले पहिले जितेकै स्थानबाट फेरी जसपाले चुनाव जित्न कठिन रहेको जानकारहरु बताउँछन् । यद्यपी गठबन्धन हुँदा असम्भव नहुने उनीहरुको भनाई छ । तर, यादव कहाँबाट लड्ने हुन् सो कुरा निश्चित भईसकेको छैन ।

जसपा जिल्ला अध्यक्ष अजय पटेलले अध्यक्ष यादव यसपटक बाराबाट चुनाव लड्ने कुराको पुष्टि गरेका छन् । उनका अनुसार बारा क्षेत्र नं.२ बाट चुनाव लड्ने चाहना बुझेर नै अध्यक्ष यादवको नाम सिफारिस गरिएको हो ।

भने यहाँका नेताहरुले पनि वहाँलाई सो स्थान दिन चाहेका हुन् । यस अघिको निर्वाचनमा पनि अध्यक्ष यादवले जितेको स्थान गृह जिल्ला थिएन । त्यस कारणपनि वहाँले बारा क्षेत्र नं.२ बाट यस पटकको चुनाव लड्ने प्रवल सम्भावना छ । हामीले त जिल्लाका चारै स्थान तपाईका लागि खुल्ला छ भनिरहेका छौं, जिल्ला अध्यक्ष पटेलले भने ।

यसैगरी संघसँगै प्रदेशका लागि पनि दुवै क्षेत्रबाट दुई दर्जन बढी नेताहरुको नाम सिफारिस भएका छन् । यद्यपी भोली १५ गते बस्ने जिल्ला कार्यकारिणी समितिले तेस्मा काटछाँट गरि थोरैमात्र नाम प्रदेश कमिटीमा पठाने छ, अध्यक्ष पटेलले बताए ।

यस्तै शुरक्षीत स्थान मानेर केन्द्रिय अध्यक्ष बारा आउन चाहेको कुरामा सत्यता नभएको समाजवादी यूवा संघ बाराका अध्यक्ष सुजित पाण्डेले बताए । अध्यक्ष यादवको चाहना नभई पूर्व उपप्रधानमन्त्री भई सक्नु भएका र राष्ट्रिय राजनितिको केन्द्रमा रहनु भएका नेतालाई बाराबाट प्रतिनिधी बनाउन यहाँका नेताहरुले चाहेको उनले बताए ।

“वहाँले यहाँबाट चुनाव लड्नु भनेको बाराबासीका लागि गौरवको कुरा हो । जिल्लाको विकास र समृद्धिका लागि राष्टिय नेतालाई निर्वाचित गर्ने अवसर निर्माण गर्न खोजेका हौं,” पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय