
२० भदौ ,गुल्मी: एमाले र एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा गरिएको छ। सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो।
नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन्। एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको दाबी गरे।


एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले वामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताए। एकीकृत समाजवादीका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदीप घिमिरेलगायतका एक दर्जनभन्दा बढी नेता एमालेमै फर्किएका छन्।
स्वागत तथा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले जिवन्त पार्टीभित्र अन्तर्विरोध स्वाभाविक भएकाले गुल्मीबाट सुरु भएको अभियान निकै महत्वपूर्ण भएको बताए। उनले एमालेभित्रको अन्तर्द्वन्द्वलाई बाह्य शक्तिले समेत मलजल गरेकाले केही नेताहरूले नयाँ पार्टी स्थापना गरेको जिकिर गरे।
त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई पार्टीबीचको एकताले देशभरका वामपन्थीलाई एकताबद्ध बन्न प्रेरणा थपेको बताए। विद्रोहबाट जन्मिएको पार्टीलाई एकताको तहमा पुर्याउने निर्णय गर्न निकै चुनौती भए पनि हिजोको विद्रोहले एमालेलाई बेफाइदाभन्दा कांग्रेसलाई फाइदा पुग्न थालेपछि आन्दोलनको रूपान्तरणका लागि एकीकृत समाजवादीको जिल्लाकै नेतृत्व एमालेमा समाहित हुनु निकै सुखद विषय भएको प्रतिक्रिया दिए।