पुष्पराज खतिवडा
२८ भाद्र बारा : सिमरामा भोलीबाट संचालन हुने दोस्रो अन्तर्राष्ट्रिय मन्जु देवी भेट्रान कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । मंगलबार साँझ सिमरा रंगशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारीबारे जानकारी दिईएको हो ।
भाद्र २९ देखि १ असोज सम्म संचालन हुने प्रतियोगिताको पूर्व श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले बुधबार अपराहन्न २ बजे सिमरा रंगशालामा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । “पूर्वमन्त्री श्रेष्ठले प्रतियोगिता सफल पार्न संसदबाट प्राप्त हुने एकमहिनाको तलब रकम सहयोग गर्ने घोषण गर्नु भएको छ । यस्तै फुटबल, नेटजाली लगायतका थुप्रै खेल सामाग्री समेत सहयोग गर्नु भएको छ,” सिमरा भेट्रान क्लबका सदस्य एवं प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी बताए ।
भोलीको पहिलो उद्घाटन खेल आयोजक सिमरा भेट्रान क्लब र बागमती भेट्रान विच हुने प्रतियोगिता संयोजक चौधरीले जानकारी दिए । “दोस्रो नागसोती भेट्रान हेटौंडा र चितवन भेट्रान चितवनका बिच हुने छ । यस्तै बुधबारबाट दैनिक ४ वटा खेलहरु हुने छन् । ती खेलहरु मध्य दुईवटा विहान ८ः००बजेबाट र साँझ ४ बजेबाट खेलाईने छ । जम्मा ५० मिनटको हुने खेल हेर्न दर्शकहरुले कुनै किसिमको शुल्क तिर्नु पर्ने छैन, ” उनले बताए ।
चितवन , पर्सा , बारा , काठमाडौ , पोखरा, बिरगजं, काठमाण्डौं,मोरङ्ग, हेटौंडा मकवानपुर, नवलपरासीका गरी १४ नेपाली र दार्जिलिङ्ग अनि कोलकत्ता गरी २ भारतीय गरि जम्मा १६ वटा टिम प्रतियोगितामा सहभागी हुने संयोजक चौधरीले बताए । प्रतियोगितामा सहभागि हुने टिमहरुमा बागमती भेट्रान, भेट्रान सिटी बिरगजं, भुटनदेवी भेट्रान, बिरगजं सिटी भेट्रान, काल भैरव भेट्रान हेटौंडा, मोरङ्ग भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौंडा छन् ।
यसैगरी चितवन भेट्रान, विरगजं युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत,डेभिल्स भेलीसेन्ट भेट्रान पोखरा दार्जिलिङ्ग भेट्रान भारत,सिमरा भेट्रान ए र सिमरा भेट्रान वि प्रतियोगिता सहभागि हुने संयोजक चौधरीले जानकारी दिए ।
भेट्रान अन्तराष्ट्रिय मापदण्ड अनुसार एक टिमबाट गोलकिपर सहित ८ जना खेलाडीले खेल्ने छन् । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार नगर र ट्रफि पुरस्कार प्राप्त गर्ने छन् । भने दोस्रो हुने टिमले ७५ हजार रुपैंया र ट्रफि पाउने छन् ।
खेलमा उत्कृष्ठ खेलाडीलाई ३ हजार रुपैंयाका दरमा म्यान अफ द म्याच प्रदान गरिने छ । यस्तै प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई ३ हजार ५ सय रुपैया प्रदान गरिने सिमरा भेट्रानका राज कपुर राउत( विजय) ले जनाकारी दिए । विभिन्न बिधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । दर्शकहरुले फुटबल खेल प्रतियोगिता हेर्न कुनै शुल्क तिर्नु नपर्ने उनले बताए ।
समाजसेवी युवा श्यामबाबु गुप्ताकी ममतामयी माता स्वर्गीय मन्जुदेवी गुप्ताको स्मृतीमा प्रतियोगिता गर्न लागिएको हो । बारा जिल्ला र सिमराको पहिचान प्रवर्द्धन गर्ने उदेश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको भेट्रान अध्यक्ष विजयले जानकारी दिए । उनका अनुसार सिमरामा २०७४ सालमा पहिलो भेट्रान प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रत्रकार सम्मेलनमा स्वर्गीय मन्जुदेवी गुप्ताका कान्छा छोरा एवं समाजसेवी युवा गुप्ता , नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियोे ।