
पुष्पराज खतिवडा
२८ भदौ बाराः जिल्ला अधिवेश देखी काँग्रेस बारामा सुरु भएको विवाद लफडामा परिणत भएको छ । संस्थापन र ईतर पक्ष बिचमा सोही समयबाट चिसिंदै गएको सम्बन्ध संघ तथा प्रदेश निर्वाचनको संघारमा आईपुग्दा छताछुल्ल भएको हो । बारा कांग्रेसमा बढ्दै लफडा बढ्दै गएपछि दुईपक्ष बिच एकअर्का समुहका नेतालाई पालैपालो निलम्बन गर्न थालेका छन् ।
लामो समयदेखि विभिन्न गुटमा विभाजित कांग्रेस भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर तथा मन्त्री चौधरी र कृष्णप्रसाद सिटौलाको बारामा छुट्टाछुट्टै गुट छ ।


जिल्ला सभापति राजेश राय यादव देउवाको संस्थापन पक्ष अर्थात जिल्लामा मन्त्री चौधरी तथा सिटौलाको समुहका हुन् । उपसभापति मनोज भट्ट मन्सुर समुहमा छन् । उनीहरुका छुट्टा छुट्टै गुटको भेलाले आगामी निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ ।
स्थानिय निर्वाचनमा अन्तरघात गरेको आरोपमा केहीदिन अघि ईतर समुहका जिल्ला नेता एवं जिल्ला सभापती प्रत्यासी शम्भु बुढाथोकीलाई संस्थापन पक्षले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको थियो ।
त्यसको साता दिन नपुग्दै ईतर समुहको बैठकले मंगलबार खानेपानी मन्त्री एवं नेपाली कांग्रसका सहमहामन्त्री उमाकान्त चौधरीलाई निलम्बनको कार्वाही गरेको छ । कांग्रेस जिल्ला अनुशासन समिति बाराले विद्यानमा भएको ब्यवस्था कोडगरी पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । दुबै पक्षको जिल्ला अनुशासन समिति छन् ।
क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री चौधरीलाई स्थानिय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउदै समितिले निलम्बन गरेको हो । मन्त्री चौधरी सहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रिय सभापति रामप्रवेश प्रसाद यादव गरी ३ जना नेताहरुलाई निलम्बन गरिएको समितिका संयोजक अरुणकुमार यादवले बताए ।
स्थानिय निर्वाचनमा आफ्ना पाटीका उमेदवारहरुलाई अन्तरघात गरेको उजुरीकै आधारमा वहाँहरुमाथी अनुशासनको कार्वाही गरिएको उनले बताए । तीनै जनालाई गरिएको निलम्बलको पत्र केन्द्रीय अनुशासन समितिमा पठाइएको यादवले जानकारी दिए । पार्टी विरोधी गतिविधिमा लागेको कारण कार्वाही गरिएको उनले बताए ।
संयोजक यादवका अनुसार मन्त्रि चौधरीले सिम्रौनगढ नगरपालिकाको कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार विजयशंकर यादव विरुद्ध लोसपाका उम्मेदवारका पक्षमा मत दिलाएको आरोप छ । यस्तै पूर्वसांसद यादव र क्षेत्रिय सभापति यादवले महागढीमाई नगरपालिकामा आफ्ना उम्मेदवारका विपक्षी उमेदवारको क्याम्पमै सहभागी भएर मत मागेको आरोपमा निलम्बन गरिएको हो ।
केन्द्रीय तहमा देउवा र सिटौला एकै समुहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ । यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफ्नै सिफारिस आधिकारिक रहेको दावी गर्दै आएका छन् ।
यसअघि मंसुर निकट रही बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गरेका थिए ।
बैशाख २८ गतेको मिति रहेको उक्त पत्र बाहिरिएपछि अर्को पक्षले एकै पटक तीन जनालाई निलम्बन गरेको हो । दुवै समुहले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम कारवाही गरेको उल्लेख गरेका छन् । कांग्रेसको बारा जिल्ला समितिमा देउवा समुह बलियो मानिन्छ ।