पुष्पराज खतिवडा २९ भाद्र ,बारा: काँग्रेस बाराका दुईपक्ष विज्ञप्ती वारमा उत्रिएका छन् । उनीहरुले केही घण्टाको फरकमा एकअर्काकाले गरेको कार्वाही भ्रामक, झुट र फर्जी भएको दावी गर्दै विज्ञप्ती जारी गरिरहेका छन् ।
उपसभापती मनोज भट्ट समुहले मंगलबार खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी सहित तीन नेतालाई निलम्बन गरेएको पत्र सार्वजनिक गरेर सनसनी मचायो । सोको काउन्टरमा जिल्ला सभापति राजेश राय यादव पक्षको तर्फबाट मन्त्री सहित ३ नेतालाई कार्वाही गरिएको पत्रलाई झुठो भएको दावी गदै गएराती अबेर विज्ञप्ति जारी गरेर खण्डनको प्रयास गरेको छ ।
भट्ट समुहको काउन्टरमा राती यादव पक्षले पार्टीका वरिष्ठ नेताहरुलाई निलम्बन गरिएको भन्दै मंगलवार दिउँसो सामाजिक संजाल र संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको दावी गर्दै विज्ञप्ति आएको छ । उक्त विज्ञप्ती जिल्ला पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले निकालेका हुन् ।
कार्यालय सचिव यादवको विज्ञप्ती आए लगतै पुनः उपसभापति भट्टले बुधबार अपराहन्न अर्को विज्ञप्ती जारी गरेका छन् । दुईपक्षले आ–आफ्ना अनुशासन समिति गठन उल्लेख गरेका छन् । दुबै पक्षले आफु पक्षीय अनुशासन समितिलाई नै आधिकारीक दावी समेत गर्दै आएका छन् ।
सभापति यादव पक्षले नेपाल सरकारका मन्त्री एवं काँग्रेस सहमहामन्त्री तथा सांसद चौधरी, पूर्वसांसद एवं महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश यादवलाई कारवाही गरेको भन्दै बाहिरिएको पत्रमा हस्ताक्षर गर्ने अरुणकुमार यादव आधिकारी ब्यक्ति नभएको र उनी जिल्ला सदस्य मात्रै रहेको दावी गरेको छ ।
गएराती सभापति यादव समुहको विज्ञप्तिमा कांग्रेस बाराको जिल्ला कार्यसमितिले २०७९ बैशाख १० गते जिल्ला सभापति यादवको सभापतित्वमा बसेको बैठकले अनुशासन समिति गठन गरेको उल्लेख गरेको छ । कांग्रेसको विधानको धारा ३४(३) बमोजिम विनोदमणी मण्डलको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको समितिमा रामनारायण प्रसाद यादव र सुनैनादेवी कलवार सदस्य रहेको उल्लेख छ ।
यस्तै उपसभापति भट्टको समुहको विज्ञप्तीमा २०७९ बैशाष १३ गते भट्ट नेतृत्वको बैठकले हो । कांग्रेसको विधानको धारा ३४(३) अनुसार अरुण कुमार यादव (गुड्डु)को संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन भएको र सो समितिमा दिपकप्रकाश गुप्ता र प्रियंका दास रहने गरी जिल्ला अनुसासन समिति गठन गरिएको उल्लेख उल्लेख छ ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोप लगाउदै केन्द्रीय अनुशासन समितिलाई सम्बोधन गरेर कांग्रेसका एकले अर्को पक्षका नेतालाई कारवाही गरेको पत्र तथा विज्ञप्ती सार्वजनिक भएको थियो । उक्त पत्रमा अरुणकुमार यादवले हस्ताक्षर गरेका थिए ।
यसअघि बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गरेका थिए ।
दोस्रो पक्षले आफ्ना नेता बेढाथोकीलाई कार्वाही गरिएको भन्दै संचार माध्यममा आएको सुचनामा समेत कुनै सत्यता नभएको बताएको छ । सो पक्षका कार्यलय सचिव आशिक मियाँ मुंसरले जारी गरि गरेको विज्ञप्तीमा विपक्षीको विज्ञप्ती भ्रामक छुठो र फर्जी रहेको उल्लेख छ ।
दुई गुटमा विभाजित कांग्रेस भित्रको विवाद यतिबेला सतहमा आएको छ । बारामा केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र कृष्णप्रसाद सिटौला निकट रहेका अर्का सहमहामन्त्री चौधरीको छुट्टाछुट्टै गुट सक्रिय छ ।
केन्द्रीय तहमा देउवा र सिटौला एकै समुहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ । यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएका छन् ।