३१ भाद्र, काठमाडौंः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिने भएका छन् । शुक्रबार दुबै संस्था विच काठामाण्डौंमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा नयाँबानेश्वर स्थीत ईन्द्रेणी होटेलमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपलाका प्रतिष्ठित दुई ठुला थोककर्जा प्रदायक संस्थाहरु मिलेर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुन सहमत भएका हुन् ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० शेयरलाई मर्जरपछि ८७ शेयर १००ः ८७ कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको साना किसान विकास लघुवित्ति वित्तिय संस्थाका नायव महाप्रबन्धक झलेन्द्र भट्टराईले जानकारी दिनु भयो ।
नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जर सम्बन्धी नीति अनुरुप एक आपसमा गाभिएपछि बन्ने संस्थाको पुँजी कोष ७ अर्ब भन्दा बढी हुनेछ, भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्ने वहाँले बताउनु भयो ।
मर्जरपछि बन्ने अन्तरिम सञ्चालक समितिको नेत्रृत्व खेम बहादुर पाठकले नै गर्नु हुने छ । यस्तै प्रमुख कार्यकारी अधिकृतमा शिवराम प्रसाद कोईराला रहनु छ ,भने ज्योति चन्द्र ओझालाई प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा राखिने सहमति भएको वहाँले बताउनु भयो।
यस्तै दुबै संस्थाका संस्थापक समूहबाट २/२ , सर्वसाधारण समूहबाट १/१ र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको सुचना अधिकृत नायव महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।
“नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने बैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पुरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो” ,वहाँले बताउनु भयो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नु भएको छ ।
उक्त अवसरमा दुबै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरु, पत्रकार लगायतको सहभागिता थियो ।