नवराज घिमिरे
३ असोज,बारा: हत्या अभियोगमा विगत ६ वर्षदेखि जेलमा रहेका एमालेका पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेलमा रहेका प्यासी आज रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाई आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्यासी सोमबार बिरगजं कारागारबाट रिहा भएका हुन् । उनी सोमबार दिउँसो बिरगजं कारागारबाट रिहा हुँदा उनका आफन्त र समर्थकहरूको दलबलले भब्य स्वागत गरेका थिए ।
संविधानसभाको दोस्रो निर्वाचनको समयमा बाराको निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका तर्फबाट संविधान सभासदस्य पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते महमुद आलममाथि परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते आलमको २०७० असोज २४ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । एमाले निकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट खटिएको विशेष अनुसन्धान टोलीले प्यासीलाई दोषी पाएपछि पक्राउ गरेको थियो ।
लामो समयको अनुसन्धानबाट घटना प्यासीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले प्यासीलाई आलमको हत्या भएको तीन वर्षपछि बाराको सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो । प्यासी तत्कालीन एमालेका पूर्व समानुपातिक सभासद् हुन् ।
उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
आलम हत्यापछि २०७० को संविधानसभा निर्वाचनमा एमालेले उनकी पत्नी नेजमा खातुनलाई उम्मेदवार बनाएको थियो । उक्त चुनावमा आलम पत्नी नेजमाले फराकिलो मतान्तर सहित चुनाव जितेकी थिइन् ।
तत्कालीन एमालेका केन्द्रीय सदस्य समेत रहेका आलमको हत्यामा संलग्न रहेको पुष्टि भएपछि २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई बारा जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो ।
तर, जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउँदै आलमकी पत्नी नेजमाले २०७३ कार्तिक ५ गते उच्च अदालत अस्थायी इजलाश बिरगजंमा पुनरावेदन गरेकी थिइन् । त्यसपछि उच्च अदालत अस्थायी इजलाश बिरगजंका एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको थियो ।
आलमको हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई भने अदालतले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १६ बमोजिम १० वर्षको फैसला सुनाएको थियो ।