नवराज घिमिरे
असोज ११, बारा
जीतपुरसिमरा उपमहानगरपालिका २ मा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल शिलान्यास गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले शिलान्यास गरेका हुन् ।
शिलान्यास पश्चात मन्त्री खापुङले निर्माण कार्यलाई समयमै सम्पन्न गरेर अनेक बाहानामा ढिलो गर्ने परिपाटी अन्त्य गर्न आग्रह गरे । उनले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउँदै देशभर निर्माण हुने १५ शैया सम्मका आधारभुत अस्पतालका लागि मन्त्रालयले आवश्यक जनशक्तिको दरबन्दी कायम गर्न अध्ययन गरिरहेको बताए ।
अस्पताल निर्माणका लागि काठमाण्डौको एचपिसि कन्स्ट्रक्सनसंग उपमहानगपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता भएको छ । दुई वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने उद्देश्यले निर्माण सुरु गरिएको अस्पताल भवन करिब सात कठ्ठा क्षेत्रफल तयार गरिन ईन्जिनियर अभयकान्त झाले बताए ।
झाका अनुसार सरकारको ससर्त अनुदान अन्र्तगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँको लागत अनुमान गरिएको छ । उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयवासि वीरगञ्ज, हेटौडा, भरतपुर र काठमाडौंसम्म पुग्न बाध्य छन् ।
डिपिआर अनुसार अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ.पि.डि., इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह, दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताएका छन् । अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ ।
भवन निर्माण शिलान्यास भएसंगै उपमहानगरपालिकाले अस्पतालको सेवा प्राथमिक स्वास्थ्य केन्द्रको हालकै पूर्वाधार उपयोग गर्दै सुरु गर्ने भएको छ । जीतपुरसिमराका नगर प्रमुख पौडेलले आवस्यक जनशक्ति समेत माग भईसकेको र एक महिनाभित्रमा सेवा सुरु गर्ने तयारीमा जुटेको बताए ।
उपमहानगरपालिकाले एमडिजीपी उपाधी प्राप्त एक चिकित्सकसहित, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ । नगर प्रमुख पौडेलले उपमहानगपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशिघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षण गराएका थिए ।
उपमहानगरपालिकाले यसै वर्षदेखि मिर्गौलाको डायलासिस सेवा समेत सुरु गर्ने तयारी गरिरहेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि भाष्करका अनुसार एक महिनाभित्र अस्पतालको सेवा सुरु गर्ने र एक वर्षमा डायलासिस सेवा सुरु गर्ने लक्ष्य रहेको बताए ।
प्रत्येक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने संघीय सरकारको अवधारणा अनुरुप निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेल नेतृत्वमा रहदा उपमहानगरपालिकाले अस्पतालको टेण्डर आवहान गरेको थियो । उक्त टेण्डर स्विकृत गर्दै वर्तमान नगर प्रमुख राजन पौडेलले अस्पताल निर्माणको काम अघि बढाएका हुन् । अब बन्ने अस्पतालको डिजिटल नक्सा :