नवराज घिमिरे
असोज ११, बारा
अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलीरहेको “प्रेमगीत ३” बाराको सिमरामा प्रदर्शनमा आएको छ । केएसआर मुभिज सिनेमाघरमा घटस्थापनाका दिनबाट प्रेमगीत ३ संचालनमा आएको हो ।
सोमबार पहिलो पटक उद्धघाटन गरिएको केएसआर मुभिजमा बसेर प्रेमगीत ३ का नायक प्रदीप खड्काले सिमराका दर्शकसंग चलचित्र हेरेका हुन् ।
प्रेमगीत ३ प्रदर्शनसंगै संचालनमा आएको हलमा चलचित्र प्रचारमा व्यस्त नायक खड्का लगायतका कलाकारसँगै बसेर फिल्म हेर्न पाउँदा सिमरेली दर्शक उत्साहित बनेका थिए ।
प्रेमगीत ३ प्रदर्शन गर्नुअघि केएसआर सिनेमा घरको उद्घाटन गरिएको थियो ।
झण्डै १८ करोडको लागतमा निर्माण भएको सिनेमा घरको नायक खड्का सहित प्रेमगीत ३ को कलकार टोली, पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्यकलाकार किरण केसी, सन्दिप क्षेत्रीलगायतले एकसाथ उद्घाटन गरेका थिए ।
उद्धघाटन पश्चात सम्बोधन गर्दै शहरोन्मुख सिमरामा सिनेमा घर संचालनमा आउनु चलचित्रप्रेमीका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको मन्त्री श्रेष्ठले बताए ।
बिकसित शहरको रुपमा रुपान्तरित हुदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा नायक खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमा घर संचालनमा आएकोमा खुसी ब्यक्त गरे ।
चलचित्र प्रेमगीत ३ ले नेपाललाई विश्वभर चिनाउन सफल भएको नायक खड्काले दावी गरे ।
बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले व्यवसायसंगै सिमरालाई सुविधा सम्पन्न सहरको रुपमा चिनाउन सिनेमा घरले मदत पुग्ने बताए ।
कार्यक्रममा पूर्व सिनेकर्मी युवराज लामा, हास्यकलाकार किरण केसी र सन्दीप क्षेत्रीले चुनौतीका बीच सिमराका व्यवसायीले चलचित्र क्षेत्रका लागि गरेको लगानीले सफलता प्राप्त गर्नेमा आशावादी रहेको बताए ।
सिमराका ब्यवसायी कासिम मियाँ, रोसिद उन्निथान, राजन उप्रेती र सुदीप लामाको लगानीमा संचालनमा आएको केएसआर सिनेमा घर सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।
केही समयअघि सिमरामा अबौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमा घर संचालनमा ल्याएका हुन् ।
सिनेमा घरको उद्घाटनपछि नायक खड्कासंगै नायिका क्रिष्टिना गुरुङ, निर्देशक सन्तोष सेन, किरण के.सि., सन्दिप क्षेत्री लगायतका कलाकारसँगै बसेर चलचित्र हेर्न पाउँदा दर्शक निक्कै हर्षित भएका थिए ।
केएसआर सिनेमा घरमा नेपाली र हिन्दी भाषामा डबिङ गरिएको चलचित्र एकसाथ प्रदर्शन गरिएको थियो । उद्घाटनसंगै सिनेमा घर अब नियमितरुपमा संचालन हुने व्यवसायीमध्येका एक उप्रेतील जानकारी दिए ।