कैलाली : १६५ निर्वाचन क्षेत्रमा गठबन्धन गर्न लागिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले आफ्नै दल मिलाउन सकस परिरहेको छ । सुदूरपश्चिमका केही जिल्ला तथा स्थानीय तहबाट विद्रोहका स्वरहरू बढ्न थालेपछि मंसिर ४ को चुनावमा गठबन्धनलाई ‘धक्का’ लाग्ने सम्भावना बढेको हो ।
शनिबार शेखर-गगन समूहले काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा कांग्रेस नेता भरतबहादुर खड्का कड्किएपछि प्रदेशमा इतर समूह चनाखो भएको छ । समानुपातिकमा पनि सम्मानजनक स्थान पाउन नसकेको भन्दै अहिले जिल्ला-जिल्लामा गठबन्धनविरोधी स्वरहरू सुनिन थालेका छन् ।
‘हाम्रो टिकट त पार्टी सभापति शेरबहादुर देउवाजीले बाँड्ने हो नि,’ ‘मेरो टिकट बाँड्ने प्रचण्ड जी वाह । हाम्रो टिकट प्रचण्ड जी बाँड्नुहुन्छ, माधवजी बाँड्नुहुन्छ ’ शनिबारको सभामा खड्काले भनेका थिए ।
खड्का अघिल्लो पटक एमालेका उम्मेदवार चक्र मल्ललाई हराएर प्रदेशसभा निर्वाचित भएका थिए । यसपटक उनको नाम डोटीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ । उनीसँगै सिफारिस भएका पूर्वमन्त्री तथा प्रदेश सभापति वीरबहादुर बलायर प्रधानमन्त्री तथा पार्टी सभापति देउवानिकट हुन् । देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका प्रेम आलेलाई डोटी जिम्मा लगाएर आफ्ना विश्वास पात्र बलायरलाई कैलाली-४ मा मा झार्न खोजेपछि डोटीमा अझै विवाद बढेको छ ।
मंगलबार यहाँका ९ वटै पालिका सभापतिहरूको संयुक्त बैठकले डोटीमा गठबन्धन गर्न नहुनेमा एक मत देखिएका छन् ।
गत स्थानीय तहमा पनि केन्द्रको निर्णयविरुद्ध कांग्रेस एक्लै निर्वाचनमा होमिएको र त्यसमा सफल भएको कांग्रेसको दाबी छ । स्थानीय तहमा पनि सफल भएको भन्दै यस पटक पनि यहाँ गठबन्धन नगर्न केन्द्रलाई दबाब दिने उद्देश्यले यहाँका सबै पालिकाका सभापतिहरूको बैठकले गठबन्धनको विरुद्धमा सर्वसम्मत निर्णय गरेका हुन् ।
‘गएको स्थानीय निर्वाचनमा पनि केन्द्रीय कमिटीको निर्णयविरुद्ध जाँदा डोटीका ९ मध्ये साढे ७ स्थानीय तहमा कांग्रेसले सफलता पाएको सर्वविदितै छ’, बैठकले गरेको निर्णयमा भनिएको छ, ‘डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाब सृजना गर्न सर्वसम्मत निर्णय गरियो ।’
पार्टीको केन्द्रीय समितिले गर्ने प्रचारमा पनि आफूहरूको संलग्नता नरहने तथा गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने उनीहरूको निर्णय नै गरेका छन् ।
यसअघि नै जिल्ला कार्यसमितिले पनि गठबन्धन स्वीकार नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसको भ्रातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रेम आलेका लागि टिकट ‘प्याक’ गरिसकिएको स्रोतले बताएको छ । यहाँ कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर र मुख्यमन्त्री त्रिलोचन भट्टले पनि दाबी गरेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापतिनिकट मानिएका बलायरलाई देउवाले कैलाली ४ र ५ मध्ये एक रोज्न भनेका थिए ।
तर, कांग्रेस बलियो रहेको डोटीका नेताहरू गठबन्धनको विरोधमा उत्रिएपछि आलेलाई संकट पर्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसका बलायरलाई आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । ७४ मा बलायर हराएका आले २०७० सालमा डोटी-२ बाट सांसद बनेका थिए । त्यो बेला बलायर डोटी-१ बाट विजयी भएका थिए ।
स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेस निकै अगाडि छ । कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।
बझाङमा पनि समस्या
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा अहिले नेपाली कांग्रेस र नेकपा एसको सशक्त दाबी गरिरहेका छन् । एमालेबाट दुई पटकसम्म निर्वाचित भएर मन्त्री भइसकेका पुराना नेता भानुभक्त जोशी अहिले नेकपा एसमा छन् । जोशीलाई टिकट दिनुपर्ने दबाबसहित बझाङमा नेकपा एसको दाबी गरिरहेको छ । टिकटमा नेकपा एसले बझाङ पाउने सम्भावना बढे लगत्तै कांग्रेसले पनि आफ्नो दाबी नछाड्ने निर्णय गरेको छ ।
बझाङ कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने सङ्केत गरेको हो । अघिल्लो सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले माओवादीसँग गठबन्धन गर्ने र नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।
‘बझाङ जिल्लाका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत् स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी गराइन्छ’ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो न्यून स्थानमा रहेको कांग्रेसको दाबी छ ।
वैशाख ३० गतेको मत परिणाम अनुसार यहाँ एकल रूपमा एमाले बलियो देखिएको छ । गठबन्धन हुँदा भने कांग्रेस बलियो छ। आफू बलियो भएको स्थानमा कांग्रेस समाजवादीलाई छोड्न जिल्लामा तयार छैन । नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९ हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका छन् ।
२०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमाले भने चार पटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।
बैतडीमा उस्तै
नेपाली कांग्रेस बैतडी जिल्ला समितिले गठबन्धनका अन्य कुनै दललाई बैतडी जिल्ला जिम्मा लगाएर गठबन्धन नगर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको जिल्ला कार्यसमिति बैठकले गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णय गरिएको हो ।
जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए ।
‘यहाँ हामी बलियो अवस्थामा छौँ । त्यस कारण पनि हामीले यो क्षेत्र पाउनु पर्छ’ उनले नेपाल प्रेसलाई भने, ‘हामीले पाएनौँ भने यहाँ गठबन्धन हुँदैन । कांग्रेस एक्लै निर्वाचनमा होमिन्छौँ र जित्छौँ पनि ।’
बैतडीमा कांग्रेसको संगठन बलियो रहेको भन्दै गठबन्धन नगर्दा यहाँ आफूहरूको विजय सुनिश्चित भएको जोशीले दाबी गरे । प्रतिनिधिसभातर्फ एक मात्रै क्षेत्र रहेको यस जिल्लामा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार दामोदर भण्डारी विजयी भएका थिए ।
बैतडीमा वाम गठबन्धनका दामोदर भण्डारी विजयी भएका छन् । उनले ३९५२४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर भण्डारीले २८२९१ मत पाएका थिए ।
अहिले भण्डारी एमालेका प्रदेश अध्यक्ष हुन् । उनी यसपटक पनि एमालेको तर्फबाट उम्मेदवार बन्ने पक्का हुँदा गठबन्धन भित्र नेपाली कांग्रेस र माओवादी केन्द्रले सशक्त दाबी गरिरहेका छन् । पछिल्लो समय बैतडी माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढेपछि कांग्रेसले विरोध जनाएको हो ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केही दिन पहिले जिल्ला पार्टी सभापति चन्द र पूर्व मन्त्री केशव बहादुर चन्दलाई बोलाएर बैतडी कांग्रेसको भागमा पर्ने प्रयास भइरहेको जानकारी दिएका थिए । कांग्रेसले यो क्षेत्र पाउनु पर्छ भन्ने दाबी गरेको बताउने पार्टी सचिव जोशीले उम्मेदवार को बन्ने भन्ने बारे त्यसपछि छलफल हुने जनाए ।
प्रधानमन्त्रीकै जिल्लामा समस्या
सत्ता गठबन्धन कसिलो बनाउन लागिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ । केही समय अघि डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन । स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको छ ।
प्रतिनिधिसभातर्फ सिफारिस भएका प्रधानमन्त्री देउवा २०४८ यता अपराजित छन् । प्रदेशसभा क मा सिफारिस भएका साउद निवर्तमान गाउँपालिका अध्यक्ष हुन् भने ख मा सिफारिस भएका बोहरा समानुपातिकमार्फत सांसद भएर मन्त्री बनेका हुन् ।
जिल्लाको प्रदेश सभाको ख को लागि नेकपा एकीकृत समाजवादीले डा. तारा जोशीलाई सिफारिस गरिसकेको छ । अघिल्लो पटकको प्रदेशसभामा नेकपा एमालेबाट उठेका उनी कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित बनेका थिए । त्यस्तै, जनता समाजवादीले जिल्लामा एक क्षेत्र नदिए विद्रोहको चेतावनी पनि दिइसकेको छ ।
प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निर्णय भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबिच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ । यहाँ माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट पनि आकांक्षी छन् । उनी लगातार तीन पटकसम्म देउवासँग पराजित भइसकेका छन् । देउवासँगै पराजित भएका भट्ट देउवाकै सहयोगमा प्रदेशमा निर्वाचन लडेर मुख्यमन्त्री बन्ने चर्चा पनि व्यापक छ ।
विरोध कि बार्गेनिङ ?
अहिले बैतडी, डोटी, बझाङ र डडेल्धुरामा सबै भन्दा धेरै समस्या देखिएको छ । डडेल्धुरा बाहेकका जिल्लामा प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सम्भावना नरहेपछि विरोधका स्वरहरू सुनिन थालेका हुन् ।
‘हामीले मित्रवत् प्रतिस्पर्धा गर्ने भनेका छौँ’ प्रदेश सभाका लागि सिफारिस भएका कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउदले भने ‘प्रदेशमा सबैको दाबी छ । हेरौँ के हुन्छ ।’
कञ्चनपुर १ मा पनि नेपाली कांग्रेसले प्रतिनिधिसभामा कांग्रेसलाई भाग नपरे गठबन्धन नगर्ने निर्णय गरेको थियो । यहाँ करिब कांग्रेसलाई भाग नपर्ने निश्चित जस्तै यहाँ प्रचण्डकी बुहारी बिना मगर गठबन्धनको उम्मेदवार बन्ने जनाइएको छ ।
कांग्रेसले एक्लै अड्ने भन्दै अड्डी कसेको जिल्ला मध्ये बैतडीमा माओवादी केन्द्रले पाउने सम्भावना रहेको छ । तर, सत्ता गठबन्धनका बलियो रहेको कांग्रेसलाई चिडाएर माओवादी वा नेकपा एकीकृत समाजवादीले निर्वाचन जित्न सहज भने छैन ।
कांग्रेसले साथ नदिए सबैभन्दा धेरै समस्या डोटीमा आलेलाई हुने देखिन्छ । तर, यहाँ अहिले पालिका सभापतिहरूले गरेको निर्णय कार्यान्वयन हुने कुरामा भने विश्वस्त हुन नसकिने नेकपा एकीकृत समाजवादीकै नेताहरू बताउँछन् ।
‘यहाँहरूको विरोधले केही फरक त पक्कै पनि पर्छ । तर, यो विरोधभन्दा पनि नेतृत्वलाई दबाब हुन सक्छ’ नेकपा एस डोटी इन्चार्ज पूर्णा जोशीले भनिन् ।
नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदी पनि अहिले जिल्ला तथा पालिकास्तरमा भएका निर्णयहरू पार्टी केन्द्रको निर्णय पछि मत्थर हुने बताउँछन् ।
‘गठबन्धन गर्ने, नगर्ने भन्ने अधिकार केन्द्रलाई छ । जिल्लाले निर्णय गर्दैमा केही फरक पर्दैन’ उनले भने ।
Copy by nepalpress