निराज रानाभाट , काठमाडौं : दुर्गापक्षको मुख्य दिन असाेज १९ गते , बुधबार ( आज ) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साईतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा – आराधना गरिएको प्रसाद बुधबार ( आज ) मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साईत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार ( आज ) बिहान ११ः५१ बजेको साईत उत्तम रहेको जनाएको छ । विजया दशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साईत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
“ राज्य सञ्चालकले भने साईतमै टीका लगाउनुपर्छ , राज्य सञ्चालकले शुभ साईतमा टीका लगाउँदा प्रभु , मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साईत दिइएको हो , साईतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ”, उनले भने ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरि विजया दशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका , जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने छन् ।
समितिले घटस्थापना गरि जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साईत आज बिहान १०ः३४ बजे रहेको छ ।
लगाइमाग्ने पश्चिम , लगाइदिने पूर्व फर्कनुपर्ने
विजया दशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताए धर्मशास्त्रविद् एवम् समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुने छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवम् डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजया दशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।
आज गुरु पुरोहित , हजुरबुबा , हजुरआमा , बुबा , आमा , मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका , जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश , ऐश्वर्य वृद्धि , काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
विजया दशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ :
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
अर्थात द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस् , अयोध्याका राजा दशरथको जस्तो श्री होस् , दशरथका छोरा रामको जस्तो शत्रु नाश होस् , राजा नहुषको जस्तो ऐश्वर्य होस् , वायुको जस्तो गति होस् , दुर्योधनको जस्तो मान होस् , भीष्मको जस्तो शुरता होस् , बलरामको जस्तो बल होस् , कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस् , विदुरको जस्तो ज्ञान विज्ञान होस् , नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका , जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।