२६ असोज २०७९
बारामा एकजना वडा अध्यक्षमाथी नाबालिका बलात्कार गरेको आरोप लागेको छ । निजगढ नगरपालिका २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ विरुद्ध नाबालिकलाई जबर्जस्ती करणीको आरोप लागेको हो ।
उनी विरुद्ध मंगलबार साँझ ईलाका प्रहरी कार्यालय निजगढमा पिडितका पक्षबाट जाहेरी परेको प्रहरीले जनाएको छ । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठ विरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।
श्रेष्ठले आफ्नै छोरीकी साथी १५ वर्षकी नाबालिकालाई राती साँढे ८ बजेको समयमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गत १९ गते दशैंको टिकाका दिन अध्यक्ष श्रेष्ठले आफ्नै घरमा साथी भेट्न आएकी बालिकालाई जबर्जस्ती कोठामा लगेर करणी गरेको जाहेरीमा उल्लेख छ । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको निजगढ प्रहरी श्रोतले बतायो ।
‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरी माथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भने । यस विषयमा प्रारम्भिक अनुसन्धान भइरहेकाले औपचारिक रूपमा बोल्न नमिल्ले बताए ।
वडा अध्यक्ष श्रेष्ठ गत वैशाखमा भएको स्थानिय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।