नवराज घिमिरे
२६ आसोज , बारा
“गायब भएको, अपहरण भएको हल्ला चलाएर प्रहरीलाई दुःख दिएछन्, म त आफ्ना शुभचिन्तकहरुका साथ चुनावी छलफलमा थिएँ ।” भन्दै आश्चर्यजनक भाव पोख्दै थिइन् नेतृ नारायणी रायमाझी निरु ।

पार्टीले योगदानको कदर नगरेको भन्दै बारा क्षेत्र नं. ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीलाई अपहरणको खबर पाएर खोज्न आएको भन्ने प्रहरीको भनाईले अचम्ममा पारेको हो ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयबाटै नेतृ रायमाझीको अपहरण भएको हल्ला चलाएर प्रहरी परिचालन गरेको खबरले जीतपुरसिमराको चुनावी माहौललाई थप ततायो । यो खबरले स्थानिय मिडियामा राम्रै चर्चा पनि पायो ।

सत्ता गठबन्धनको सहमति विपरित प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी रायमाझीलाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका दलले दवाव दिंदै आएका थिए । रायमाझीले उम्मेदवारी फिर्ता नलिने चाल पाएपछी अन्तिम समयमा अपहरणको संज्ञा दिँदै प्रहरी नै परिचालन गरेर थप दवाव दिने प्रयास भएको हो ।

सिमरास्थित होटल इच्छामा बसिरहेकी रायमाझीलाई जीतपुरसिमरास्थित निर्वाचन अधिकृतको कार्यालयमा बोलाएको भन्दै प्रहरी लिन पुगेका हुन् । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाको नेतृत्वमा पुगेको प्रहरी टोलीले रायमाझीलाई निर्वाचन कार्यालय हिड्न अनुरोध गरेका थिए ।

प्रहरीले अपहरणमा परेको सूचना आएकाले लिन आएको र निर्वाचन कार्यालयमा हाजिर गराउनु पर्ने जिम्मेवारी आफ्नो भएको बताएका थिए । तर रायमाझीले आफू अपहरणमा नपरेको र आफ्नो शुभेच्छुकमाझ रहेकोले निर्वाचन अधिकृतको कार्यालय नजाने अडान लिएपछि होटलको स्थिती केहीबेर तनावग्रस्त बनेको थियो ।

यसअघि एकिकृत समाजवादीका एक नेताले कांग्रेसले केन्द्रीय सदस्य बनाएको भन्दै रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालय लगेर झुक्याउदै उम्मेदवारी फिर्ता गर्ने फारममा हस्ताक्षर गराएका थिए । स्रोतले भन्यो ‘पछि थाहा पायौं झुक्याएर उम्मेदवारी फिर्ता लिने फारममा हस्ताक्षर गराउने प्रयास गरेको रहेछ ।’

त्यो कुराथाहा पाएलगत्तै उनका समर्थक जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्वाचन कार्यालयबाट रायमाझीलाई समर्थकले फर्काएर लैजान खोज्दा प्रहरीले रोकेका थिए । समर्थकलाई रोकेपछि अन्तिम समयमा रायमाझीका छोराले उनलाई फर्काएर सिमरा स्थित ईच्छा होटल लगेका थिए ।

रायमाझीले उम्मेदवारी फिर्ता नलिने निष्कर्षमा पुगेपछि गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै अपहरणको नाम दिएर अन्तिम समयमा प्रहरी परिचालन गरेको हो । निर्वाचन कार्यालय मार्फत प्रहरीलाई फोन गराएर रायमाझीको अपहरण भएको र तत्कालै निर्वाचन कार्यालयमा उपस्थित गराउन भनेपछि प्रहरी रायमाझीलाई खोज्न पुगेका थियो ।

उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराएपनि मनोनयन दर्ता गर्दा निर्वाचन कार्यालयले दिने निस्सा फिर्ता नगरेका कारण रायमाझीको उम्मेदवारी कायम रहेको र उनी जेब्रा चुनाव चिन्ह लिएर फर्कीएकी उनका श्रीमान्ले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय