नमराज घिमिरे
कार्तीक १९, बारा
मेयर सहितका अतिथिले भरिभराउ मञ्चमा बसेर आफ्नो प्रशंसा सुन्दै गरेकी सञ्जिला खातुनलाई सबैको ताली बटुल्ने अवसर आउला भन्ने कहिल्यै लागेको थिएन ।

बाराको जितपुरसिमरा”९ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराको १६ औं साधारण सभाको अध्यक्षता गरिरहेकी उनले सर्वसहमतको ताली सहित नयाँ कार्यकालका लागि पनि अध्यक्षको जिम्मेवारी पाइन् ।

साधारण लेखपढ मात्रै गर्न जानेकी सञ्जिला १ हजार ४ सय पैंतालिस जना महिला सदस्यहरुको मन जितेर दोश्रो पटक ४ बर्षका लागि अध्यक्ष बनेकी हुन् ।

एकका लागि होइन सबका लागि सोच्ने बानीले उनी बढी रुचाइएको बताउँछन् ,सहकारीका व्यवस्थापक झपेन्द्र राज बराल । उनी भन्छन् “चौतर्फी सोचेर मात्रै जवाफ दिने र नियम सँगत काम र परिणामका लागि सबैलाई उत्साहित बनाउने वहाँको बानी छ । सबैको भलोका लागि अरुलाई मात्रै होइन आफुलाई पनि नियममा बाँध्ने गर्नुहुन्छ । त्यसैले वहाँलाई सबैले रुचाउँछन् ।”

सबैको मन जितेकोमा खुशि भन्दा पनि परम्परागत सोच राखेर अवसर पाउँदा पनि नपढेकोमा सञ्जिलालाई हिजोआज बढी पिडा हुन्छ । “घुम्टो र घर बाहेक बाहिरको दुनियाँसँग सरोकार थिएन मलाई, त्यसैले त मास्टरकी छोरी भएर पनि आफ्नै मनले पढिन ।” उनी थप्छिन् “पढेको भए म अझ धेरै राम्रो गर्न सक्थें भनेर अहिले पछुतो लाग्छ ।”

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २० निवासी ४२ वर्षिया सञ्जिला २ छोरा ३ छोरीकी आमा हुन् । एक छोरा र एक छोरीको विवाह भैसकेको छ । अरु पढ्दैछन् ।

साधारण लेखपढ मात्रै गर्न सक्ने सञ्जिलामा साथीहरुको मन जित्ने गरी जिम्मेवारी वहन गर्ने कुशलता भएको सहकारीका शेयर सदस्य हरु बताउँछन् । “महिला महिला एक ठाउँ भए काम भन्दा बढी झैझगडा हुन्छ भन्छन् तर हाम्रो सहकारीमा काम र सद्भाव छ ।”

शेयर सदस्य एवं निवर्तमान लेखा समिति संयोजक दुर्गा ढकाल थप्छिन् “एकअर्का प्रती सम्मान जगाउने काममा सञ्जिला दिदिको सकारात्मक सोच व्यवहारले राम्रो भुमिका खेलेको छ । त्यसैको परिणाम स्वरुप फेरीपनि नेतृत्वको जिम्मेवारी वहाँलाई नै दिन सबै सहमत भएका हुन् ।”

परिवारका सदस्यको मान राख्दै सञ्जिला ऋण लिन र गर्जो टार्न मात्रै सहकारीको सदस्य बनेकी थिइन् । आफु सदस्य बनेपछि गाउँका सबैलाई सदस्य बनाएर उनी अन्तर समुहमा आइन् । त्यसपछि सबैको अनुरोधमा ३ वर्ष संचालक समिति सदस्य भएर अनुभव बटुलेसँगै उनी अध्यक्षमा चुनिएकी थिइन् ।

पाएको जिम्मेवारीको सम्मानपुर्वक निर्वाहले पुनः अध्यक्षमा चुनिएकी सञ्जिलाले आफ्नो सफलतामा परिवारको महत्वपुर्ण हात रहेको बताइन् । श्रीमान्ले रोक्नुको सट्टा सदैव अघी बढ्न प्रेरित गरेका कारण आज परिवार नै आर्थीक रुपमा समृद्ध बनेको उनको भनाइ छ ।
सुरुमा ५ हजार ऋण लिएर तरकारी खेति गरेकी सञ्जिलाले अहिले ८ लाख रुपैंया ऋण लिएकी छिन् ।

१५ कट्ठा आफ्नो जग्गा र २ विगाहा थप जग्गा अरुको लिएर खेति गरेकी छन् । श्रीमान्ले सिलाइबाट कमाएको रकम र उनले तरकारी तथा अन्य कृषी उपज बिक्री गरेर छोराछोरीलाई पढाएका छन् । दुवैले आम्दानी गर्दा खर्च टार्न, ऋण तिर्न तथा बचत गर्न सजिलो भएको र हालसालै १८ लाखको २ कट्ठा घडेरी जोडेको सञ्जिलाले बताइन् ।

दिदि बहिनीहरुसँग प्यारो नाता जोडिएको, आर्थीक उपार्जनको लागि सहकारी सहयोगी बनेको, बोल्ने बानीको विकास भएको र संस्था संचालन गर्ने सिप विकास भएको विषयलाई उपलब्धि मान्ने उनले आफ्नो समय खेतिबारी र सहकारीमै बित्ने गरेको बताइन् ।

बिहानसाँझ सितलमा खेतबारीको काम गरेर दिनमा सहकारीमा समय दिने गरेको बताउँदै उनी भन्छिन् “श्रीमान् र समुदायको साथ भए महिलालाई सबैभन्दा पहिला बन्न समस्या हुँदो रहेनछ ।”

समाजले आफु बाहिरिँदा कुनै गलत आक्षेप नलगाएको उनले दावी गरिन् । उनले भनिन् “मेरो प्रगतीको लागि त समाजका सबैले दुवा(प्रार्थना) गर्नुभयो । मेरो उदाहरण दिएर छोरीहरुलाई उत्प्रेरित गर्नुहुन्छ । समाजले निर्वाध सहयोग गरेकै कारण मैले धेरै दिदिबहिनीको नेतृत्व गर्न पाएकी छु ।”

फोटोमा विचमा हरियो साडीमा संजिला खातुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय