नमराज घिमिरे
२० कार्तीक,बारा :मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रहरी कडा रुपमा प्रस्तुत हुने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन् ।

स्थानिय चुनावका क्रममा भएका घटनाले पाठ सिकाएको भन्दै निर्वाचन विथोल्ने कार्य विपरित आवस्यक परे गोली चलाउन पनि प्रहरी नचुक्ने उनले चेतावनी दिएका छन् । शनिबार बाराको कलैयामा आयोजित निर्वाचनमा आमसञ्चारको भुमिका विषयक अभिमुखिकरण कार्यक्रममा बाल्दै प्रजिअ कटुवालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने “स्थानिय निर्वाचन भन्दा यो निर्वाचन चुनौतीपूर्ण छ तर जो कोहिबाट निर्वाचनमा बाधा हुन्छ, धाँधली हुन्छ वा हुलदंगा हुन्छ भने प्रहरी चुप लागेर बस्दैन । तिन वटै सुरक्षा निकाय परिचालन गरेको अवस्थामा निसंकोच मतदान गर्ने नागरीक अधिकार रक्षा गर्न आवस्यक परे प्रहरीले गोली चलाउँछ ।”

कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधिस पूर्णेश्वर प्रसाद उपाध्यायले आचारसंहिता पालना सहितको निर्वाचन सफल बनाउन संचार माध्यमको भुमिका महत्वपुर्ण रहेको बताए । उनले आचारसंहिताको पालना गर्दै अवरोध रहित निर्वाचन होस् भन्नाका लागि निष्पक्ष तथा सत्य तथ्य सुचना संप्रेषण गरेर सहयोग गर्न संचारजगतलाई आग्रह गरे ।

कार्यक्रममा ज्वालादल गणका प्रमुख सेनानी भुपेन्द्र गोदार, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, कोष प्रमुख परशुराम क्षेत्री लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरी र नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहताले आचारसंहिता सम्बन्धि सामग्री प्रस्तुत गरेका थिए ।

आचारसंहिता विपरितका कार्य रोक्न लागि परेका छौं–प्रउ बोगटी

आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसारमा प्रयोग भएका २१ वटा भारतिय नम्बर प्लेटका गाडी प्रहरीले बरामद गरेको छ । आचारसंहिता लागु भए पछि संहिता विपरित प्रचारप्रसारमा प्रयोग भएका २१ वटा गाडीहरु कारवाहिको दायरामा ल्याइएको बारा प्रहरीले जनाएको छ ।

नेपालको तुलनामा सस्तो पर्ने हुँदा चुनावी प्रचारप्रसारमा अधिकाँश उम्मेदवारहरुले भारतिय गाडी प्रयोग गर्ने गरेका छन् । तर आचारसंहिताले भारतिय गाडी प्रचारप्रसारमा प्रयोग गर्न बन्देज गरेको अवस्थामा पनि व्यापक प्रयोग भएको सुचनाको आधारमा ति गाडीहरु कारवाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

थाहा खबरसँगको कुराकानीमा बोगटीले बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी र बारा ४ का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले प्रचारप्रसारमा प्रयोग गरेको सरकारी गाडी फिर्ता गराएको बताए ।

शनिबार चर्को स्वरमा डिजे बजाएर भड्किलो तवरले प्रचारकार्यमा प्रयोग भएको एक सेट डिजे पनि बरामद गरेको उनले बताए । उनले आचारसंहिता उल्लंघनका समान्य सुचनामा पनि प्रहरी गम्भिर बनेको दावि गरे । प्रउ बोगटीले आचारसंहिता उल्लंघन बारे हरेक नागरिक सचेत हुन र प्रहरीलाई सुचना दिएर सहयोग गर्न आग्रह गरे ।

फोटोमा : बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल कार्यक्रममा धारणा राख्र्दै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय