नमराज घिमिरे
२० कार्तीक,बारा: फोहोर नउठाएको विषय लिएर वडा वासि सहित तिपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष सुनिल गुप्ता उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

महिनौं देखि जितपुर बजार बाहेकका भित्रि वस्तिको फोहोर नउठाएको, नाला सफा नगरेको र लामखुट्टे मार्ने औषधी नछरेको, सोका कारण डेंगु रोगीको संख्या बढेको गुनासो लिएर जाँदा नगरप्रमुखले वेवास्ता गरेको उनको आरोप छ ।

निर्वाचन कार्यालय समेत रहेको उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दि गरेर दैनिक कामकाज अवरोध गरेको भन्दै गुप्ता सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । वडाअध्यक्षलाई पक्राउ गरेको विरोधमा स्थानियले सडक जाम गर्दै आन्दोलन गरेका थिए ।

वडाध्यक्षलाई तत्काल छाड्नु पर्ने माग राखी आन्दोलन उग्र हुन थालेपछि केही बेरपछि उनलाई प्रहरीले छाडेको थियो । वडा अध्यक्ष गुप्तालाई प्रहरीले छाडेपछि बाराको जितपुरमा भएको चक्काजाम केहीबेर अघिमात्रै खुलेको छ ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिउँसो २ बजेदेखि भएको चक्काजाम भर्खरै खुलेको हो । आगामी दिनमा यस्ता गतिविधी नगर्ने सर्त सहित वडाध्यक्ष गुप्तालाई छाड्ने सहमति पश्चात आन्दोलन साम्य भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

आन्दोलित पक्षको अवरोध हटेसँगै सैयौं यात्रुहरु गन्तव्य तर्फ लागेका छन् । टायर बालेर नारावाजी गर्दै स्थानियले गरेको चक्काजामका कारण लागेको सवारीको लाम हटेको छ । जनताको कुरा नसुनेको भन्दै नगरप्रमुख प्रती आक्रोशित स्थानियले वडा अध्यक्षलाई नछाडेसम्म आन्दोन नरोक्ने अडान राखेका थिए ।

जनताका कुरा सुन्नुको सट्टा पौडेल निर्वाचन कार्यालय भएको चौथो तल्लामा गइ बसेर जनतालाई घण्टौं कुराए पछि बाध्य भएर तालाबन्दि गरेको आन्दोलनमा सहभागी गंगा कंडेलले बताइन् ।

तालाबन्दि गरेर नारावाजी गर्दै गर्दा उपमेयर भोला अधिकारी सहित प्रमुख प्रशासकिय अधिकृतले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै ताला खोले पनि प्रहरीले अध्यक्ष सहित २ जनालाई पक्राउ गरेपछि सडकमा उत्रिनुपरेको वडा सदस्य ललीता देवि पासपानको दावी छ ।

नगरपालिकाको कार्यालय रहेको जीतपुरलाई सफा बनाउन माग गर्दा प्रहरी थुनामा राख्नु काँहाँको न्याय हो भन्दै आदोलित उनिहरुले नगरप्रमुख विरुद्ध नारावाजी गरेका थिए । यसबारे नगरप्रमुख राजन पौडेलले भने निर्वाचनका गतिविधी विथोल्न गरिएको नियोजित कार्य भन्दै यस बारे निर्वाचन कार्यालयको ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले वडाध्यक्ष गुप्ताले विभिन्न बाहानामा पटक पटक नगरपालिकामा तालाबन्दि गरेर काम गर्नै नसक्ने अवस्था बनाएको तर्क राखे । उनले भने “फोहोर नउठाएको भन्ने बाहना मात्रै हो । यो त राजनैतिक द्धेष साँध्ने खेल हो । कुनै कुनै बखेडा गरेर भाइरल हुने चाहनाले ग्रसित गुप्ताका कारण काम गर्ने वातवरण पाएको छैन । आजको तालावन्दि पालिकामा मात्रै होइन निर्वाचन कार्यालयमा पनि हो त्यसैले आचारसंहिताको उल्लंघन पनि हो ।”

यद्धपी आजको नारावाजी तथा पालिकामा भएको तालावन्दिले निर्वाचन कार्यालयमा कुनै असर नपरेको निर्वाचन कार्यालय जीतपुरसिमराले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय